रीता ठकुरी
(दार्जिलिङ)
सल्किरहेछ रेगिस्तानी धरती
यहुदी मुस्लिमको लडाइँमा
बगिरहेछ रगतको खोलो
अहम्को प्यास बुझाइमा
यहुदी, मुस्लिम, इसाई सबै
येरूसलेम आफ्नै ठान्छन्
यसैले त मायाले सबै आफ्नै छातीमा
गोली दाग्छन्
देख्दैनन् ईश्वर रोइरहेको
सृष्टि त आफ्नै ठान्छन्
एउटाले ‘पानी’ अर्कोले ‘वाटर’
तेस्रोले भन्दियो ‘जल’
शब्द शब्दको रङ नमिल्दा
जुर्मुराई उठ्यो बल !
बलिष्टले दुर्बललाई
दुर्बलले मरन्च्यासेलाई
गोदनुसम्म गोदिरह्यो
पानीले पनि प्यासै मेटाउने
‘वाटर’ले पनि त प्यास
‘जल’ले पनि प्यासै मेटाउने
लडाउँदै छ व्यर्थै झ्यास!
बुझेन मान्छे कोही कसैले
बुझ्नेहरु अझ अबुझ बने
एकबारको यो जिन्दगीमा
हुनखोज्दै सबै धने
ईश्वर अल्लाह एउटै हो भन्दै
गान्धीले सत्य गाए
तर बुझेन तितो सत्य गोड्सेले
आफैलाई हिरो बनाए
‘पानी र जल’कै विवादमा परी
गान्धीले गोली खाए
भाइ भाइमा अंशबन्डा भो
रातो धर्का कोरियो ‘रेड क्लिफ लाइन’
अल्लाह र ईश्वरलाई अलग पारेर
भारत पाकिस्तान छुट्टियो
ढुक्क परे भक्त सबै
तर पारेन शक्त दुवैलाई कहिल्यै
एकल ईश्वर अल्लाह भक्तिले
लाखौँ मारिए, लाखौँ लुटिए
लाखौँ इतिहासको गर्भमा पुरिए
लाखौँलाखभए बलात्कृत, शोषित र दलित
तैपनि धर्मान्धताले कहिल्यै लगाएन प्रीत
पुच्छर छामेर हात्तीलाई डोरी देखिरह्यो
मक्ख पर्दै अभिनय प्रदर्शन गरिरह्यो अहम्को
अज्ञानता र अपूर्णताको ‘बिटिङ रिट्रिट’मा
सम्प्रदायवादले चट्टी थाप्दै छ!
भाइले भाइलाई भुलेर आज
काँडेतारको रस पो पिइरहेछ
एउटा वारि अर्को पारि आँखा तरातर छ
अझै अँगालो हाली मिले हिसाब बराबर छ
मानिस भएपछि झुक्नेले उठ्नु उठ्नेले झुक्नु
खोई के लाज र शरम छ ?
मानिस नै राक्षस भइसकेपछि
ईश्वरलाई पनि दर्शक भइदिनु सरम छ
अदृश्य भाइरसलेविश्व हल्लाइरहेछ
साँप, बिच्छी र चमेराले पनि
निर्धक्क बाँच्न नपाएपछि
मान्छेभित्र अति ठुलो आन्द्रा पलाइरहेछ
यसैले होला विश्वमा ‘कोरोना’को हुङ्कार भो
धनले नबाँच्ने, मनले नबाँच्ने,
बलले नथेग्ने भोहरेश खायो विज्ञानले
टाउकोमा हात राख्दासायद सम्झियो होला–
‘ज्ञान विज्ञानको हात जोड्नुपर्दछ कर्ममा,
ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ ।’
सम भन्ने गर्थे
अब हामी पनि हाँसेरै मर्ने कर्मतिर लागौँ
कोरोनालाई हराऊँ जीवनलाई बचाऊँ।