साउन २९, काठमाडौं । अनुवादका क्षेत्रमा क्रियाशील स्रष्टा राजेन्द्र गुरागाईंको पहिलो मौलिक कृतिका रूपमा गीतिसंग्रह ‘शब्दहार’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि डा. विष्णुविभु घिमिरेलगायतले गीतसंग्रहको विमोचन गरे ।
विमोचन मन्तव्यका क्रममा डा. घिमिरेले गुरागाईंका गीति रचना सरल शब्दमा राम्रो भावको भएको बताए । उनले गीतकार गुरागाईंसँगको सम्बन्ध विराटनगरमा पढ्दादेखि नै भएको स्मरण गर्दै गीत मनको भाषा र बालकको मुस्कानझैँ भएको उल्लेख गरे ।
कृतिको समीक्षा गर्दै साहित्यकार प्रमोद प्रधानले गीतकार गुरागाईंले पहिले राजेन्द्र धनञ्जयका नामले कविता लेख्ने गरेको चर्चा गर्दै उनका गीतहरूले माटोप्रतिको प्रेम प्रस्तुत गरेको बताए ।
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गीतकार राजेन्द्र गुरागाई, ऋषभदेव घिमिरे, राधेश्याम लेकाली, राधिका गुरागाईं, डा. शान्तिमाया गिरी, मधु पाठकलगायतले बोलेका थिए ।
विशेषतः बंगाली भाषामा नेपाली कृति र बंगाली भाषाका रचना नेपालीमा अनुवाद गर्दै आएका गुरागाईंका दुई अनुदित कृति प्रकाशित छन् ।