सेदुनाथ ढकाल
देवीथानको काखमुनि, सिमखेतको मुहानमा
पूरै गाँउको मुटु थियो, हाम्रो सिम्पानी पँधेरो ।
झिसमिसेमा पानी भर्न, आइपुग्थे पँधेरनीहरु
गाग्री भर्ने पालो नआई, सुरू गर्थे दिलको कुरो
छछल्किन्थ्यो वेदना र दुःख अनि हाँसो र खुसी
पानी मात्रै होइन त्यो, सम्बन्धको थियो कसी ।
पँधेरो छेउको चौतारोमा, हुन्थ्यो हाम्रो अपनत्व,
हल्लिँदा पिपलको पात, मन पनि सँगै हल्लिन्थ्यो
त्यै शीतल छहारीमुनि, निष्कलङ्क चिल्ला ढुङ्गामा
कोइलीको धुनसँगै, न्याउलीको भाकासँगै
बुद्धिचालको पालो कुर्दै, चलाउँथे बुढापाका
टोल, छिमेक र गाँउ विकासका बहसहरु ।
सिमपानीको शिरमाथि देवीथानको वन थियो
सबै गाँउको पहरेदार, अग्लो सिकारी सल्लो थियो
एैँसेलुको झाँङमाथि, कटुस र बाँसघारीभित्र
मुजुर र कालिजको लुकामारी, मृगहरुको चरणभित्र
सल्लाको सुसेली धुनसँगै पूजा चल्थ्यो देवीथानमा
बसेका थिए आस्था त्यहाँ सबैका मन मनमा ।
लठारिन्थे वरिपरि पहेलपुर नागनागिनीहरु
पूजा गर्थे गाँउलेहरु पानी दिन्छन् यिनले भनी
कथा भन्थे सबैले गाँउमा वर्षा हुन्छ अब भनी
पँधेरोको रक्षा गर्न घेरा हाल्थे सधैँभरि
केही अशुभ भयो भने डसिदिन्थे दुष्टलाई
शान्त बनी कुवाभित्र बस्थे सधैँ शुभ भई ।
पानी मात्र होइन त्यो प्रेम र परम्पराको मुहान थियो
देवीथान थियो, कथा थिए र मान्छेको आस्था थियो
त्यहाँ घाम ढोग्न आउँथ्यो र बतासले घण्टी बजाउँथ्यो
चौतारोमा बसेपछि दिनभरिको थकाइ सबै बिर्सिन्थ्यो
पक्षीहरु गाउँथे नाच्थे, नागहरु कहिलेकाहीँ गाउँ पस्थे
मानिससँग प्रेम गर्थे, डाँडापाखा खेतबारीमा डुल्दै बस्थे ।
तर, सुन्दै छु,
अब त्यो पँधेरो सिम्पानी पार्क बन्दै छ रे
सिकारी सल्लो, कटुस र रूद्राक्षका रूख
सबै बिक्री भइसके रे
थाहा छैन नागहरु खै कता गए
मृग, कालिज र मुजुरहरु फेसबुकतिर बसाइँ सरे
बरपिपल चौतारो सहरतिर
बर्खे झरीमा पानी त बग्छ तर जीवन बग्दैन
भत्किसकेको पँधेरो छ तर पानी भर्न कोही आउँदैनन् ।
त्यसैले,
अब हामीलाई ठुल्ठुला पानीट्याङ्की होइन
त्यै सिम्पानी पँधेरो चाहियो
पाइपजडित धारा होइन त्यै कुवा चाहियो
पार्क होइन बरपिपल चौतारो चाहियो
टेम्पल, मस्क, चर्च र मोनास्ट्री होइन
त्यै देवीथान, सिकारी सल्लो र नागनागिनी चाहियो ।


