यादव प्रसाद कोईराला
खै के भयो भयो
के भएको होला
बडो नमिठो लाग्छ
भुँडी ह्वात्तै बढेको देख्दा
जता गए नि भुँडी नै अगाडि छ
फोटो खिचाउन खोज्यो
भुँडी नै अगाडि
सास रोकेर भुँडी लुकाउन खोज्यो
मुख ङिच्च भएको पत्तै नहुने
कति बेसोमत छ यो भुँडी
कोटको टाँकले
जति नै थाम्न खोजेनी
टाँकको तलमाथिबाट
ब्यहोरा देखाई हाल्ने
धन्य छ साइला दाई
टाँक बलियोसँग लगाई दिनुभएकोमा
खै के मात्र गरिन मैले
भुँडीको प्रतिगमन विरुद्ध
प्रतिक्रान्ति स्वरुप
योगा पो गरिन कि
व्याडमिन्टन र टेबलटेनिस खेलिन कि
साइक्लिङ र जिम पो गइन कि
जे गरे नि उस्तै छ यो भुँडी
नहोस पनि किन
स्वादे जिब्रो न छ
कहिले कर्णालीको मार्सी त
कहिले मेचीको मसिना
कहिले ककनीको ट्राउट त
कहिले सुकुटेको माछा
कहिले कालिजको रस त
कहिले कराईको चिकेन
कहिले कसौडीको पकुवा त
कहिले बर्दियाको बँदेल
साथमा
कहिले स्कटल्याण्डको स्कच त
कहिले अष्ट्रेलियाको वाइन
कहिले रसियाको भोड्का त
कहिले मुस्ताङको मार्फा ।
खै के भएको हो
अब त केवल
मात्र पिडा छ मनमा
आफ्नै व्यहोराले गर्दा
यो भुँडी विरुद्धको
प्रतिक्रान्ति सफल नभएकोमा ।