सानुराजा श्रेष्ठ अञ्जान
आज पूर्णचन्द्रको रात/आज पूर्णिमाको रात
यसै पूर्णचन्द्रको मध्यरातमा
म कोठाको नीरवतालाई
भत्काउने सोच्दै थिएँ
अनायासै पर्दाहरु सरर हल्लिए
सिरिरी बतास आयो
मेरो स्वप्नागारभित्र तिमी आयौ
तिम्रो शारीरिक कस्तूरी सुगन्धले गर्दा
कोठाका रबरप्लान्ट र मनिप्लान्टका
नयाँ मुनाहरुले तिमीलाई स्वागत गरे ।
कोठाको शून्यताभित्र भित्तेघडीको
टिकटिके पर्खाललाई ढाल्न खोज्दै थिएँ
अकस्मात् तिमी आयौ/तिम्रो आत्मा आयो
चहकिलो तिम्रो आत्माको प्रकाशले
मेरो कोठाको कुना कुना जगमगायो
एकपटक त मेरो आङ जिरिङ्ङ भयो ।
तिम्रो मृत्युपछिको यो पहिलो भेटले
तिम्रो आत्मा र म सशरीरबिच
हाम्रो पहिलो तथा अन्तिमपटकको
सुहागरात मनाउन लागेको थियो ।
बाहिर असङ्ख्य उल्लु, चमेरा र
कुकुरहरुको भयानक भुकाइ सुनिन्थ्यो
तिमी क्रमशः ममा समाहित हुँदै गइरहेकी थियौ
र म क्रमशः तिम्रो आत्मासँगसँगै
अन्तरिक्षतिर लाग्दै थिएँ
तिम्रो आत्मासँगै/आत्मा भएरै ।
सपनाबाट पनि टाढा-टाढा भाग्दै थिएँ ।