रमी प्रिया
(शङ्खमूल, ललितपुर)
माथि आकाशमा
बेफिक्री भई निस्केको छ
यायावर बादल
बादलको बान्की पछ्याउँदै
उडेको मनचरी
चरीको सानो आँखाले
एकैपल्टमा चुम्न नसकेका
अनगिन्ती फूलहरु छन् तल ।
अझै तल
गन्तव्यको फेर समाएर कुदिरहेछ
समयनदी
र किनारमा फैलिएको
बालुवाको साम्राज्य
बिथोल्नलाई विश्वासको भित्ता
काफी छ छालको एक सनक
भत्किन सक्छ
निमेषभरिमै सबैथोक
तैपनि कहाँ सकिन्थ्यो र
नबनाई बस्न
बालुवाको एउटा सुन्दर घर ।