स्नेही शिव
(महाङ्काल ५, ललितपुर, हाल: गोदावरी ३, झरूवारासी)
सतीको बोकी लौ, मृत वदन घुम्दा शिव अहो !
सतीको घाँटी भो, पतन जब तिम्रै शिर उँभो ।।
त्यसैलाई भन्छन् सकल जग ‘कालेश्वर’ भनी ।
पुजे आस्था खुल्छन्, त्रिभुवन त्यसै शोभित बनी ।।
उकाली ओराली प्रकृतिपन यो सुन्दर अहो !
लिएकी ‘चन्देवी’ कति जतन काखैभरि अहो ।।
यही देखी भन्छन्, सब जगत्ले प्राकृतकला ।।
भनूँ आस्था खोली म पनि सब यो दैविक कला ।।
‘महाँकालै’ साछी अलि पर लिई पावन बन्यौ ।
धुवाई साराको करकमल औ निर्मल बन्यौ ।।
बगेकी ‘बैतर्नी’ सललसित लो ‘टुङ्गुन’ तल !
पुण्यात्मा छुट्याई अमरपुर पुग्छिन् हरपल ।।
पिई बैतर्नीको अमृत जल यो, तागत लिई ।
अहो ! छेड्थे ‘खावा’, सपुत गहिरा दुस्मन चिनी ।।
महाँकालै भाकी विजय गुणका पूर्वज पनि !
लडेथे ‘गोर्खाली’ रिपु बलसँगै भैरव बनी ।।
जहाँ हुङ्कारिन्थे सपुत दल ‘गढी’को वरपर ।
त्यसै हट्थे ठूला रिपुदलहरु लौ परपर !!
पुराणै बोल्छन् लौ अति पवित्र तीर्थस्थल तिमी ।
अहो ! सम्झे मात्रै पनि सहज ताछ्र्यौ भव तिमी ।।
पवित्रै छन् चौधै भुवन पनि तिम्रो चरणमा ।
लिएकी प्रेमैले सब जगत् आफ्नै शरणमा ।।
छ जित्ने स्वर्गे यो ललितपुरको दक्षिणतिर ।
उठेका अग्ला यी, सकल चुचुरा, सुन्दर शिर !!
छ हावापानी विपिन गुण वातावरण यो ।
अहो ! डाक्यो सारा हृदय सब पर्यटकको ।।
कहाँ होला यस्तो, जगतभरिको उत्तम थल !
छ ‘लुङ्तोङ्’ गुम्बाको अमृतमय वाणी झलमल ।।


