गगन राई
(ओखलढुङ्गा)
छ जसको शक्ति, सम्पत्ति र नजिकको इष्ट
छ भएको उही सम्मानित, पुरस्कृत र विशिष्ट ।
छन् जो नैतिकवान्, इमान्दार र कर्तव्यनिष्ठ
छन् भएका उनै अपहेलित, शोषित र कनिष्ठ ।
छन् जो योग्य र गर्छन् निस्स्वार्थ काम
छन् भएका उनै आरोपित र बदनाम ।
छ जसले दिएको देशलाई अथक योगदान
छ पाएको उसले नै तिरस्कार र अपमान ।
छ जसले चलाएको पाखुरा बगाई पसिना
छ भएको उही गरिब र पाउँछ पनि घृणा ।
छन् जो विद्वान्, शिक्षित र देशभक्त
छन् तिनै राज्यबाट उपेक्षित हर बखत ।
छ जसको सफा आवरण र सुन्दर चित्र
छ उसैको कुरुप, द्वैध र कुटिल चरित्र ।
छ्न जो भ्रष्टचारी, धुर्त र देशद्रोही
छ तिनकै चर्चा, व्यापक वाहवाही ।
छन् जो गफाडी र काम सिन्को भाच्दैनन्
तिनै सोझालाई नठगी बाँच्नै सक्दैनन् ।।


