विश्वनाथ वाग्ले
(ग्वालदह, दक्षिणकाली)
चिन्छन् देश सहर भनी जगत्भर मन्दिरहरुको यहाँ
दशमध्ये पर्ने ती आठ चुलीहरु ग्र्वैका लायक यहाँ
कलकल गरी बग्दछन् नदीहरु पग्लेर हिउँ नै पनि
यसकारण चिनियो त विश्वभरिमा जलस्रोतको धनी
लुम्बिनी र जनकपुर सहर छन् देशका ठुला गौरव
बौद्ध, पशुपति, कृष्ण मन्दिरहरु लिने छन् शोभा जब
मुक्तिनाथ, पोखरा र ताल अरु पनि घुम्नै लायक छन् कति
स्वर्गद्वारी र पाथीभरा पुगेपछि आनन्दै हुन्छ अति
संसारभर नहुने वनस्पतिहरु पाइन्छ यै देशमा
यार्सा, लप्सी र काँडेभ्याकुरहरु नमुना बनेका यहाँ
जङ्गलमा छ अनेक जडीबुटीहरु छैनन् ती विश्वभरि
खोजे मिल्दछ अमृतै पनि यहाँ विज्ञले चिनेदेखि ।
हावापानी विविध छ देशैभरिमा छैनन् कतै विश्वमा
ठाउँपिच्छे फरक छ संस्कृति पनि बुझ्नै कठिन छ यहाँ
महिनौँसम्म मनाइने जति पनि जात्रा र पर्वहरु
संस्कृति यै बुझम् भनी ती भित्रिने लाखौँ पर्यटकहरु
स्थल छन् अनेकन् ती सुन्दर यहाँ नामै बताऊँ कति
मन लोभिने कति ठाउँहरु छन् जहाँ पुगौँ तापनि
वर्णन गर्न सकिन्न देशभरिको यस्ता कति छन् कति
महिनौँभर पनि बुझ्न कम हुने यहाँ ठाउँ कति छन् कति
यसै कारण पर्यटनस्थल भनी प्रचार सबैले गरौँँ
नमुना देश भनी सबै जन यहाँ गर्व यसैमा गरौँ ।


