मिमला शर्मा
(दरवार स्क्वाएर, भक्तपुर)

त्यो दिन वडो उल्लासका साथ,
एक बोरा सपनाहरु, बोकेर
पहिलोपल्ट तिम्रो घर भित्रिएकी थिएँ ।
संस्कारका घुम्टोहरुभित्र
मेरै अस्तित्व शिरदेसि पाउसम्म

छोपिनु त नपर्नुपर्ने हो ।
तर पनि त्यहीँ दिनदेखि
स्वच्छन्द हावाको साउतीलाई
पछ्याउन छोडेर
अँगेनाको आगोभित्र बालिदिएकी थिएँ ।
त्यहीँ दिनदेखि,
समयको धारिलो तरबारले पनि छिनाल्न नसकेका यी गह्रँगा भारहरु

काँधमा बोक्दै अनवरत हिँडिरहेकी छु ।

एक चिम्टी सिन्दुरको बाटो टेकेर,
आज हाँसोका बान्कीहरुका सिमाङ्कन हुँदै
आफ्नै बोलीका उतारचढावहरु, रेखाङ्कन भइदिएको छ ।
लाग्छ, दिनहरुका कामकाजका व्यस्ततामा
सहीछाप गरिदिएकी छु मैले ।
समयको बहावमा
म भान्से, म परिचारिका, म आया, म सुसारे

लाग्छ आवश्यकताको आह्वानमा जताततै अटाउन सक्ने,
हरकोहीको उपयुक्त, पात्र हुँ म ।

दम दिएर चलाइने सानी नानीको खेलौनाझैँ
एकतमाम सुसेलिरहेकी म,
बेहोसीमै पानी छ्यापिएर ब्युँझेझैँ
आज अकस्मात् झस्किएकी छु ।

थाहा छैन, मैले आफैलाई गुमाएँ वा भेट्टाएँ
बिहानी वा सम्साँझ छुट्याउनै कठिन
यो क्षणमा
कसैले एक पाथी धुलो टक्टकाएर,
मेरा थन्किबसेका उद्देश्य अनि
सपनाहरुको कोलाज
मैरै आँखाअगाडि पस्किदिएको छ ।

Facebook Comments Box

Similar Posts