विक्रम  तिरूवा सलिन
(तिला ३, कुडारी, जुम्ला)

थाहा छैन स्वयम् मलाई कति अघि सर्नुपर्छ
यो दुनियाँमा कसका लागि कसले मर्नुपर्छ ।

जति नै सुन्दर भए पनि स्वार्थी दुनियाँमा
एक दिन ओइलाएर फूलजस्तै झर्नुपर्छ ।

कुन भगवानको पूजापाठ गर्छौ ए साथी
मिठो फल खानलाई त सङ्घर्ष गर्नुपर्छ ।

जिन्दगी सोचे जस्तै सहज कहाँ छ र यहाँ
अप्ठ्यारा बाटा अनि खोलानाला तर्नुपर्छ ।

तिमीले माया गर अथवा मलाई त्यो घृणा
खाएको कसमले मैले तिम्रै भरमा पर्नुपर्छ ।

Facebook Comments Box

Similar Posts