विश्व सिग्देल

फुकाल्न सभ्यताको एक पत्र रोगन
जीवन उत्सवमय बनाउन
हामी जङ्गलको यात्रामा थियौँ ।

केही पूर्व तयारीका चरणहरु
केही संशय, केही सपना
केही प्याकेट चिप्स
चिसो पिएको बोतल
र सिङ्गो मध्यान्ह बोकेर झोलामा
हामी जङ्गल छिर्यौँ

उनले तयार पारेकी थिइन्
त्यो एकान्तलाई उकेरा लाउने
सुमधुर धुन
मैले सङ्गीतलाई अझै उकास्न
बोकेको थिएँ लाउड स्पिकर
अझै थप्न थिए हामीसँग
एक जोर मुख
र, ताली पिट्न दुई जोर हत्केला पनि थिए ।

जसै घनाबस्ती जङ्गलबाट
बस्तीविहीन घना जङ्गल पुग्यौँ
हाम्रा पैतालाका आवाजले तर्से
केही थान झ्याउँकिरी
उडे जुरेली, लुके फट्याङ्ग्रा
बन्द भयो आदिम गीत

हाम्रो उपस्थितिको एउटा सानो तरङ्गले
विशाल जङ्गल कापेको थियो
अघिसम्म नसुनिएको नबुझिएको
आफ्नै छातीको धड्कन
झ्याउँकिरी सङ्गीत जित्ने गरी बज्दै थियो

बुझ्यौँ
प्रवेश निषिद्ध क्षेत्रमा छौँ हामी
अब संयमको आवश्यकता छ
तब चुपचाप चुपचाप हामीले
हृदयको सङ्गीत सुन्दै बिउँझाउन खोज्यौँ
टाढा बत्ती बल्दै गरेको सहर आफूभित्र
नखोलेरै चिप्स, नपिएरै चिसा पेय
नबजाएरै कृत्रिम सङ्गीत
तृप्त तृप्त फर्कियौँ
सिँढी भएर

संशय, सपना र रहरको धुकचुकमा
सकिँदै थिए झर्नुपर्ने सिँढी
ओर्लन अब
सिँढीका दुई खुड्किला मात्र बाँकी थिए
अनायासै सुदूर छातीका कुनाबाट
एउटा आवाज अङ्कुरायो
यी दुई खुड्किला हात समाएर झरौँ न !
न्याना ती दुई खुड्किला ओर्लेपछि
सहर आयो ।

Facebook Comments Box

Similar Posts