नवराज न्यौपाने ‘मौन’
सुरम्य धर्ती छँटा हजारौँ कला खुलेको छ देश मेरो
हिमाल राम्रो पहाड हाम्रो सदा उठेको छ देश मेरो ।
बहन्छ हावा सुगन्ध बोकी र धान झुल्ने अहा तराई
अनन्त गङ्गा अपार खानी शिला कुँदेको छ देश मेरो ।
गुराँस फुल्दा हिमाल हाँस्दा सुदृष्टि हाम्रो उतै परेका
बगे हिमानी सलल्ल दक्षिण त्यतै जुटेको छ देश मेरो ।
थिए नि पूर्खा सधैँ इमानी र वीरताका कथा भुलिन्न
हजार यात्री रमेर आए खुसी बनेको छ देश मेरो ।
फुलेन आशा मिलेन जागिर भनेर सारा युवा हराए
र खेतबारी सधैँ छ बाँझो थला परेको छ देश मेरो ।
(बहर: जमील मुसम्मन सालिम)


