भारती गौतम

एउटा ओठमा सुवास
अर्को ओठमा मिठास
मुस्कुराउने फूलहरुले
बिमतिको लडाइँ घोषणा गरेका छन् ।
उमङ्ग रङ्गिने वैशाखविरूद्ध
शान्ति ओढाउने आकाशविरूद्ध
बेमेलको गीत रचेका छन् ।
सयपत्री शिरीष सुनाखरी
गुराँस गुलाब गोदावरी
तिउरी मखमली बेली चमेली
खुसी फक्रिन छाडेका छन् ।
आफैसँग जन्मिएको प्रकृति पनि होइन,
फेरिनै नसक्ने प्रवृत्ति पनि होइन,
इन्द्रेणी बिर्साउने रङ रङमा
मोहनी बर्साउने ढङ्ग ढङ्गमा
बाँडिनुपर्ने फूलहरु,
आआफ्नो हैसियतको होडबाजीमा
पौँठेजोरी खेल्दै छन् ।
प्रदूषण पोखिएको
आकाश ओढेपछि
तेजाब घोलिएको
बर्सात पिएपछि,
बेमौसममा विषालु
फक्रिनुपर्ने भएपछि,
फूलहरुले हाँसो फुल्न बन्द गरेका छन् ।
फूलहरुको सहरमा हिजोआज
बेमेलको बतास चल्छ
वैमनस्यको सुवास उड्छ,
एक्लो वृहस्पति बन्न डराउने फूलहरुले
गीतको धुन नै फेरिसकेका छन्,
वर्तमानसँग चुपचाप
आत्मसात् गरिसकेका छन् ।
फूलहरु तर आत्मसात्मा मासिएका छैनन् ।
एउटा नयाँ कोपिला उमारेर
फूलहरु फेरि सम्भावना बाँच्न चाहन्छन्
पहिले जस्तै फेरि सपना हाँस्न चाहन्छन्
फिनिक्स फूलहरु आफ्नै समाप्तिबाट
बिउँतिएर नयाँ उमङ्ग नाच्न चाहन्छन् ।
पर्यावरणका दाग पखालेर
परिवर्तनका उर्वर पराग छरेर
बगैँचाभरि आक्रोश नै आक्रोश फुलाएर
विद्रोहको बिकुल बजाउन चाहन्छन् ।
अनि
बगैँचा फेरि नयाँ वसन्त फक्रिन चाहन्छ ।
इन्द्रेणीको उपमामा बाँधिएर
कविताको अनुभूतिमा व्यक्तिएर
सौन्दर्यको सर्वनाम कथिँदा कथिँदा
रित्तिन थालेका छन् ।

Facebook Comments Box

Similar Posts