चन्द्रबहादुर लामा
अचेल
छपक्कै ढाकेको छ
तुँवालोले पर क्षितिज
र
छेकेको छ मेरो कोमल मनलाई
नभको प्रिय निलो रङबाट,
पोतिँदै गएको विकासको रङले
विस्थापित गरेको छ मेरो बलियो आस्थालाई
पहाडको हरियो रङबाट,
बढ्दै गएको नवीनताको गर्मीले
पग्लेको छ मेरो अग्लो सोच
हिमालको सेतो रङबाट,
फैलँदै गरेको बस्तीको हावाले
उडाएको छ मेरो महङ्खवाकाङ्क्षी सपनालाई
तराईको पहेँलो रङबाट ।
बिस्तारै बिस्तारै
अलग्गिँदै छौँ हामी
हाम्रै नैसर्गिक रङहरुबाट
र
निस्सासिँदै छौँ
रापिँदै छौँ
छट्पटिँदै छौँ ।
झल्झली आँखाअगाडि
नाच्छ डरलाग्दो भविष्य
डाइनोसरको युगझैँ
एकाएक द्रवीभूत भएर
मानव अस्तित्व
विलीन भएको
हावामा फुस्स ।
सृष्टिको अनादि कालदेखि
मान्दै आफ्नो सर्वाधिपति
जल, थल, नभ, अरण्य,
चन्द्र, सूर्य, पर्वत, हिमाललाई
गर्दै आयौँ अभ्यर्हण
जप्दै आदिम मन्त्र ।
हो,
चलि नै रहने छ सृष्टि
माने पनि नमाने पनि
जोगाए पनि भत्काए पनि
यसको आफ्नै क्रम छ
र, अनवरत जारी नै रहने छ ।
यद्यपि
पुजेर पनि जोगाउन नसकेको
हाम्रो भगवानलाई
हामी बिस्तारै बिस्तारै
मार्दै छौँ ।