- विश्व सिग्देल
एउटा आदिम गीतको फुर्का समातेर
यहाँसम्म आएको छु खोज्दै
कि कहाँबाट निरन्तर रसाइरहेको छ शिलाजित मुटुमा
अबसम्म त बन्द हुनुपर्ने थियो गीत
कुँजिनुपर्ने थियो हातपाउ
लाटिनुपर्ने जिब्रो
निहुरिनुपर्ने थियो शिर
र सप्पै सप्पै हुनुपर्ने थियो परिणत एउटा विराट शून्यमा
बोकेर साना गोडामा पराग
खोज्दै परागसेचित बिरूवा
भौँतारिरहेको म माहुरी
अझैसम्म तिम्रा कीटनाशक विषादीले
शून्य नबनाइसकेको मस्तिष्क बोकेर
समातेर आदिम गीतका फुर्का
यहाँसम्म आइपुगेको छु
कि हावाले कताबाट बोकी ल्याएको छ
उत्ताल जीवनको वासना
बनेर छिनमै
माटो खाएर माटै त्याग्ने
म, अमेजन वर्षावनको आदिवासी मुटु बोकेर
धर्ती खुकुल्याइरहेको गँड्यौला हुँ
तिम्रो तकनिकीले वन, पाखा, पर्वत खोस्रेर
क्षतविक्षत छु, माटोजस्तै माटो म
र, मिल्नुअघि तिमीले मरूभूमि तुल्याएको माटोमा
समातेर आदिम गीतको फुर्का
खोज्दै, यहाँसम्म आइपुगेको छु
कि दुबोले कहाँबाट बोकिल्याएको छ
यतिविधि पीयूष जलधारा आफ्नो पखेटामा
एउटा आदिम गीतको फुर्का समातेर
बनेर कमिला, बनेर लोखर्के, बनेर कुमालकोटी, बनेर कीटपतङ्ग
खोज्दै यो धराको आत्मा
सँगालेर आहत आहत आस
म आइपुगेको छु तिम्रा सामु
आश्चर्य !
निरन्तर बजिरहने जीवनको सङ्गीत
त्यो तिम्रै हृदयबाट निसृत रहेछ
ओ मान्छे !
सप्पै शून्य हुनुअघि
मैले सुनेजस्तै किन सुन्दैनौ
निरन्तर बजिरहेछ तिम्रो हृदयमा
तिमीले मेट्दै गएको, तिमीले रेट्दै गएको
धर्तीको आत्माको आदिम गीत !!