धीरकुमार श्रेष्ठ
हाम्रो गाउँको पोखरीमा
हिउँद लागेपछि बर्सेनि
हुलका हुल नौला नौला चराहरु आउँछन्
ती प्रायः हिउँका सेता रङ पोतेर आएजस्ता
निक्खर सेता हुन्छन्
राता पनि हुन्छन्
अनेक रङ रङका हुन्छन् ।
ती कहिले पानीमा पौडिन्छन्
कहिले धर्तीमा दौडिन्छन्
कहिले आकाशमा उड्छन्
दिनभरि कता कता घुम्छन्
बेलुका गाउँकै रूखमा बास बस्न आउँछन् ।
तिनलाई स्वागत गर्न भेला हुन्छौँ हामी
नजिक जान हुँदैन
सावधान हुन्छन्
जिस्क्याउन हुँदैन
पर पर हुन्छन् ।
मानौँ हामी मानिस होइनौँ
केवल आतङ्क हौँ
आतङ्कित ती र हामीबिच
दुरी राख्नुपर्छ
र तिनका चर्तिकला हेर्न पाइन्छ ।
ती कहिले रमाई रमाई नाच्छन्
पानीमा लुकामारी खेल्छन्
हावामा कावा खान्छन्
आकाशमा बाँकटे हान्छन्
तिनको रमाइलोमा हामी पनि रमाउँछौँ
उफ्री उफ्री जमिन छाड्छौँ
ताली पिटी पिटी अभिवादन गर्छौं
पानीमा डुबुल्की मारी भेट्न खोज्छौँ
न ती भेटिन्छन् न हामी भेट्न सक्छौँ
यस्तै यस्तै खेलमा हिउँद सकिन्छ
बचेरा काढी हुर्काएर
ती घर फर्किन्छन्
हामी हाम्रो गाउँको पोखरीमा
ती आउने अर्को हिउँद पर्खिरहन्छौँ ।


