त्रिविक्रम पाण्डे
गरिब दीनदुःखीको औकात हैसियत हजुर नसोधेकै राम्रो
उनीहरुको जातपात धर्म वर्ण लिङ्ग भाषा नसोधेकै राम्रो !
धेरै धेरै रहस्यमयी सुन्दर मुहारहरु बेनकाब हुने छन् ….
नितान्त व्यक्तिगत कुराहरु जथाभावी नसोधेकै राम्रो !
खेलौना सम्झेर जो खेल्छन् नाता साइनो सम्बन्धसँग ती,
बेइमान दुष्ट धोकेबाजहरुको निष्ठा इमान नसोधेकै राम्रो !
भेल–बाढी पहिरोले भत्कायो जब ओतिने झुपडी जसको….
कसरी कट्छ तब दिनरात उनीहरुको नसोधेकै राम्रो !
बेरोजगारी अभावले निचोरेर राखेको छ जो जसलाई यहाँ
भुलेर पनि उनीहरुको हालखबर कहिल्यै नसोधेकै राम्रो !
परिबन्दमा परी जसको इज्जत लाज लाग्यो जुवाको दाउमा….
कोसेली उपहार के ल्यायौ भनी उनीहरुलाई नसोधेकै राम्रो !


