नगिता लेप्चा राई
(खोलाचन्द फाप्री, सिलगढी, भारत)

बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ
बाँदर र तिमीमाझ केही फरक देखिनँ
अरुको घर सहँदैन बाँदरले
उन्नति र प्रगति सहँदैनौँ अरुको तिमीले
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ ।

कति सजिलो अरुलाई औँला ठहर्याउनु
एउटै औँली ठहर्याउँछौँ अरुलाई
तर तिम्रा अन्य चार औँलीले तिमीलाई
नै लाखेस् गरिरहेको थाहा छ के ?
तिम्रा विशाल छातीभरि
कपटी तैँछाड मैछाड गरेको देख्छु
जसले डोर्याएर तिमीलाई यहाँसम्म ल्याइपुर्यायो
उसैलाई खोइरो खन्न रातदिन तड्पिन्छौँ ।

गिज्याउँछौँ नै भने लमकलमक हिँडिरहेको
बाघलाई गिज्याऊ
मरेको बाघको जुँगा उखेलेर
वीर पुरूषको तक्मा भिर्ने मूर्ख प्रयास नगर
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ ।

बिन्ती छ नचलाऊ सुतेको बाघलाई
सुतेको बाघ कुनै दिन बिउँझिए
तिम्रो गति के होला सुर्ता लाग्छ
बाँदरे प्रवृत्ति तिम्रो टिठ लाग्छ ।
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ ।

यसैले भन्छु
आफ्नो पितुर्के सोच र बाँदर प्रवृत्तिमा लगाम लगाऊ
बरू आफ्नो घर बनाउनपट्टि ध्यान लगाऊ
अरुको घर भत्काउने मूर्ख प्रयास नगर
बाँदरे प्रवृत्तिबाट पन्छिने प्रयास गर
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ ।

Facebook Comments Box

Similar Posts