सागर फुयाल, काठमाडौँ
पालो कुरिरहेका छन्
चिन्तित बिरामीहरू
डाक्टरको कोठाबाहिर
लहरै राखेका कुर्सीहरूमा
स्वास्थ्यको आशामा
छेउको भित्र पस्छ
अनि कुरिरहेका सबै
एक-एक गर्दै अघिल्लो कुर्सीमा सर्छन्
झन् झन् ढोका नजिक पुग्छन्
धरतीरूपी यो विशाल कोठामा पनि
आ-आफ्नो पालो
कुर्दै बसेका छन् कम्पित मान्छेहरू
पस्न मात्र मिल्ने एकतर्फी
रहस्यमय ढोकाबाहिर
कोही निधारका रेखा फेर्न नसकेर
विवश भई बसेका छन् बिझाउने मुडाहरूमा
कोही अभिशप्त छन् अनिँदो बस्न
खुट्टा हल्लिएका भ्रामक कुर्सीहरूमा
कोही विराजित छन् छोड्नै नसकिने
शोभायमान आसनहरूमा
रहर र बाध्यताका यिनै कुर्सीहरूमा
बसिरहेका छन् मान्छेहरू
ढोकाबाहिर
जीवनको तानमा बुनिएका
कोही नाइलनका,
कोही पोलिस्टरका
अनि कोही रेशमका
पसिनाले सिँचेका
अत्तरले भिजेका कपडाहरू
पहिरेर बसेका छन् मान्छेहरू
ढोकाबाहिर
त्यही ढोकामा
टाँसिएको छ एउटा सूचना
“भित्र पस्दा
कुर्सी बाहिरै छोड्नुहोला
कपडा बाहिरै खोल्नुहोला”
थाहा छैन
देखे कि देखेनन्
ढोकाबाहिर पालो कुरी बस्नेहरूले!


