निमा ‘निष्कर्ष’
(कलकत्ता, भारत)
कविता खोज्न गाउँ पसेको भन्छ
सहरबाट आएका कविले ।
हरियालीले डम्म ढाकेका
र बिच बिचमा च्याउजस्ता देखिने
ससाना घरहरु देखेर
उसले गाउँ कविता देख्छ ।
गाउँतिर बग्ने दुधजस्ता सेता झर्नामा
उसले कविताको ‘क’ देख्छ
धाराको चिसो पानीमा
मुख आँ गरेर बसेको
तामाको टिलिक्क टल्केको गाग्री देख्छ
अनि
पटुकीले डम्म ढाकेको
पातलो ‘विता’ कम्मर देख्छ ।
कविले गाउँमा कविता देख्छ ।
खेतमा लहलह धानको बाला देख्नुभन्दा पहिले
उसले गोठमा बाँधिएका एक हल गोरू देख्छ
मङ्सिर महिनाको उतप्त घाम देख्नुभन्दा पहिले
उसले असारको पन्ध्रको तरून बादल देख्छ ।
त्यस बेला बादलको पनि पसिना झरेको थियो होला
खेतको भुँडीमा बिउ छर्न हम्मेहम्मे परेको थियो होला
उसले आँगनमा बनाएको ठुलो ढिकुटी देख्नुभन्दा पहिले
ससाना नानीका भुँडीभित्रको दुधे आन्द्रा देख्छ ।
कविले गाउँमा कविता देख्छ ।
कोठेबारीको चिसेनीमा
रायोको सागको पत्ता
कम्मर हल्लाउँदै नाचिरहेको हुन्छ ।
स्कुसका मचानमा चढेर
चिचिला स्कुसहरु
पिङ खेलिरहेको हुन्छ ।
पुस्टकारीको झ्याङमुनि बसेर
माटो खोतलिरहेको हुन्छ
हुन्द्रुङे मुसा
आँगनको डिलमा बसेर ‘कुकुरी काँ’ गरेर
काशी जाने कुरा भन्दै गरेको हुन्छ
माबुङको भालेले ।
आफ्नी प्रियसी क्वारकरे
कोरली पोथीलाई ।
कविले गाउँमा आफूलाई हराइपठाउँछ
कविले गाउँमा फैलिएका बारीका कान्लाहरुमा
अक्षरका बोटहरु देख्छ ।
अक्षरका बोटहरुमा
लहलह शब्दहरु फलेको देख्छ ।
कलमको सिँढी उक्लेर
अक्षरका बोटहरुमा
शब्दहरु टिप्दै
कविले कविता लेख्छ
कविले गाउँमा कविता देख्छ ।