• भोगेन्द्र लिङदेन

ए मिम्जिमाए
हजुरको रूप जुनैसरि
हजुरको माया सुनैसरि
ए मायाको हावा चलिजान्छ
दुईदिने बैंस ढलिजान्छ
ए रातभरि जुनलाई हेरेर
पर्खिन्छु तिमीलाई कुरेर
ए पीडाले मुटु दुखिजान्छ
आँखाको आँसु सुकिजान्छ ।

ए हामी त घामैको सन्तान – नाम्याप्मी सा
हामी त जुनैको सन्तान – लायाप्मी सा
ए हाक्पारे पालाम गाएर
नछुट्ने माया लाएर
ए रातभर धान नाचौं है
मायाको चिनो साटौं है
ए मनैले हजुरलाई डाकेर
मायाको देउराली भाकेर
ए शिरैमा राखिदिउँला सेक्मुरी फुङ
बाँधेर दिउँला युप्‍पारूङ ।

ए मिम्जिमाए
बगेर जाने खोला यो
मरेर जाने चोला यो
ए छुटेर जाने भङ्गालोमा
मायाको न्यानो अङ्गालोमा
ए तीन तेली तीन वाचा खाउँला
जुगजाने माया लाउँला
ए यो पुर्खाको धरती माटोमा
पुर्खाले हिँडेको बाटोमा
ए मायाले संसार बाँधेर
हिंडौंला सँगसँगै बाँचेर ।

शब्दार्थ
मिम्जिमाए- मायालु
सेक्मुरी फूङ- याक्थुङ लिम्बु मुन्धुम अनुसार जीवनको प्रतीक फूल
युप्पारूङ् – लिम्बु जातिमा प्रेमिकालाई प्रेमको निशानीको रूपमा दिइने चाँदीको सिक्का

Facebook Comments Box

Similar Posts