आर.आर. चौलागाईं
(हेटौँडा ४, अभिकुञ्ज, मित्रनगर, मकवानपुर)

मान्छेले आकाशमा चरा उडेको देखेपछि
उसलाई पनि त्यसतै गरी उड्न मन लाग्यो
र हेलिकोप्टर, जेटविमान र हवाईजहाज बनायो
मान्छेले पानीमा माछा हिँडेको देखेपछि
उसलाई पनि त्यसतै गरी हिँड्न मन लाग्यो
र डुङ्गा, पनडुब्बी र पानी जहाज बनायो
मान्छेले जमीनमा खरायो दौडेको देखेपछि
उसलाई पनि त्यसतै गरी दौडिन मन लाग्यो
र मोटरगाडी, मोटरसाइकल र रेल बनायो
मान्छेले सलाईको बट्टामा तार जोडेर
कुरा गरेको देखेपछि
उसलाई पनि त्यसतै गरी कुरा गर्न मन लाग्यो
र टेलिफोन, टेलिग्राम र मोबाइल बनायो
त्यसतो काम गर्न त सपना देख्नुपर्ने रहेछ
तर यो सपना देख्नेहरुका लागि निषेधित क्षेत्र हो
त्यसैले कृपया !
यहाँ सपना देख्न मनाही छ।

यहाँ मान्छेलाई जत्ति पनि खान छूट छ
यहाँ मान्छेलाई जत्ति पनि पिउन छूट छ
यहाँ मान्छेलाई जत्ति पनि सुत्न छूट छ
यहाँ मान्छेलाई जत्ति पनि मैथुन गर्न छूट छ
तर
कसैले पनि सपना देख्ने आँट नगर्नुहोला
कसैले पनि सपना देख्ने दुस्साहस नगर्नुहोला
किनभने
यो सपना देख्नेहरुका लागि निषेधित क्षेत्र हो
त्यसैले कृपया !
यहाँ सपना देख्न मनाही छ।

Facebook Comments Box

Similar Posts