- रामसुन्दर देउजा
हर्के असारे भेल छोप्दै छ
आधा पेट खाएर पसिना रोप्दै छ
छोराको भविष्य सोच्दै
आधा पेट जोहो गरेर
जम्मा गर्दै छ अलि अलि
छोराको पढाइ पनि अब्बल छ
स्कुलको हर क्रियाकलापमा सबल छ
हर्के भोलिको मिठो सपना बुन्दै
आज श्रममा जीवन पोखिरहेछ
छोराले मास्टर डिग्री पूरा गर्यो
जागिरका हरेक विज्ञापनमा दरखास्त दिन्छ ऊ
लिखितमा उत्तीर्ण हुँदा
एक नम्बरमा उसकै नाम हुन्छ
अन्तर्वार्तामा पनि
निर्धक्कसँग जवाफ दिन्छ ऊ
सधैँ वैकल्पिकमा पर्छ
न भनसुन गर्ने कोही छ उसको
न नगद उपहार टक्र्याउन सक्छ ऊ
बाह्रौँपटकको नतिजा पनि उही देखेर
हर्कबहादुर खुइय्य सुस्केरा हाल्दै पिँढीमा थचक्क बस्यो
र सुस्तायो
उसको सपना सपनै रह्यो र सधैँका लागि अस्तायो ।