- दीपेन्द्र श्रेष्ठ
(भक्तपुर)
स्याउले बजारको
माथ्लो टोल
बिचमा रहेको पिपलको चौतारी
मलाई खुब याद आउँछ
मेरी आमाले भुटेकी तात्तातो मकै र भटमास
बुबाले सिलाइदिएको भोटोको गोजीमा हालेर
खाँदै खेलेका याद
अहिले पनि ताजा छ ।
तातो मकै
मकै भुट्दा सुगन्धित बनेको गाउँ
अझै याद छ ।
पिपल चौतारीको दक्षिणमा
धान कुट्ने ढिकी
घरैमा रहेको मुसली
धान कुट्दा वरिपरि जम्मा भएको क्षण
अझै याद छ मलाई ।
मेरी आमा
मलाई भन्नुहुन्थ्यो
पिपलबोटतिर धेरै नखेल
भुत लाग्छ
पिपलबोट छेवैमा रहेको पाटी
त्यतातिर पनि नजाऊ
भुत लाग्न सक्छ
आमाको कुरा मानेझैँ गरेर
बेतोड दौडिन्थेँ
घरमुनिको बारीको पाटामा
रिक्सावाला खेल्न
धेरै याद त अझ च्यातिएको मोजामा छ
जब मोजा च्यातिन्छ
सिलाएर पनि च्यातिएपछि मोजा
हाम्रो खेलौना बन्थ्यो
चाउचाउ र बिस्कुटको खोल
जम्मा गरेर कोचेपछि मोजामा
पुट्ट फुलेको बल बन्थ्यो
त्यही बलले जम्मा हुन्थ्यौँ
हामी बिस पच्चिस भविष्यका युवा
अनि खेलिन्थ्यो रिक्सावाला
कहिले कता कहिले कता
उफ्रिँदा उफ्रिँदै भाँचिएछ हात
आमा, भाँचिएको हात समाउँदै
बेस्मारी रूनुभो
मलाई भन्दा आमालाई दुख्यो
मेरो भाँचिएको हात
मैले डरले आमालाई भनेँ
बालाई नभन्नु है !
आमाले रूँदै बालाई भनेपछि
रिन काढेर बाले
भाँचिएको हात जोड्न
काठमाडौँ पुर्एया को याद छ ।
बग्रेल्ती आरोह र अवरोहसँगै
साठीको बय नाघेपछि आमा अस्वस्थ हुँदै जानुभो
आमाको चिन्तासँगै
यतिखेर मेरो मन पनि अस्वस्थ छ ।