युवा बराल ‘अनन्त’
(सिक्किम, भारत)
हो महाशय !!
म आँखा देख्ने अन्धोहरुको जमातमा मिसिन पुगेको छु ।
अब म केही देख्दिनँ ।
देखेर पनि देखिनँ भन्छु भन्ने
उसको अकरनाममा सहीछाप गरिसकेको छु ।
देखेको कुरा म बोल्न सक्छु
त्यतिबेला म असुरक्षित मृगझैँ
आफ्नो रक्षार्थ
आफ्नाहरुको जगेडार्थ
भागिरहनु लुकिरहनु अनि छिपिरहनुको विपदमा पर्न सक्छु ।
देख्ने हुँदा
मेरा आँखाहरु फोरिन सक्छन्
बोल्ने हुँदा
मेरो जिब्रो थुतिन सक्छ
त्यो पासोमा परेको निर्दोष पशुझैँ
निरूपाय, निरूद्देश्य अनि निरापराध
मृत्युको मुखमा होमिन सक्छु ।
यहाँ मान्छेको के भरोसा !
अनुहारमा हाँसो पोतेर
पिठमा छुरा हान्नेहरुले
दिउँसै रात परेको हो भन्दा
प्रथमतः तिमीले ताली बजाएर समर्थन दिएथ्यौ
तिमीले ताली बजाएपछि
तिम्रा अनुयायीहरुले झन् जोड जोडले
त्यो ध्रुुवसत्यको गला घोटेका थिए ।
म अवाक त्यो सब नदेखिरहेथेँ ।
म अबोध त्यो सब नसुनिरहेथेँ ।
देशको उन्नतिको मन्त्र जपेर के हुन्छ र !
बिरालोले मार्नुभन्दा अगाडि खेलाएको मुसाझैँ
बेबस बबुरो जनता
जता पल्टायो उतै पल्टिरहनुपर्ने बाध्यतामा छन्
जनतालाई त जता घुमाउँदा नि हुन्छ
आखिर पिसिने त उही
निर्धा निमुखा अनि असहाय भुक्तभोगीहरु नै हुन् ।
म प्रत्येकपटक
ती देखेका सत्यहरुको अन्त्येष्टि गर्न
द्वन्द्वको निर्जन बगरमा पुग्छु
ती चिताहरुलाई मट्टी अर्पण दिई
अलिकति अस्तु सँगै बोकिल्याउँछु
कुनै दिन आफूले भोगेको पापसँगै
ती दृश्यहरुलाई गङ्गामा लगेर
विसर्जन गर्नलाई !!


