त्रिलोचन सुवेदी

कुनै दिन
यात्रामा निस्किएर हिँड्ने क्रममा
बाटो भुलेर कतै पुगिछौ र हराएछौ भने
मलाई सम्झनू
तिमीसँग प्रेममा परेर छुटेपछि
म उसै गरी अल्मलिएर निस्कन सकेको छैनँ
भेटाउन सकेको छैनँ
मेरो गन्तव्यको स्पष्ट बाटो
जसरी तिमी अल्मलिएकी छौ त्यो ठाउँमा
बाटोहरु धेरै हुँदा पनि
तिमी अल्मलिएर अगाडि बढ्न सक्दिनौ
म यसै रूमल्लिएर अघि बढ्न सक्दिनँ
तिमीले सोध्न कोही मान्छे भेटाउँदिनौ
म सोध्न कसैलाई आँट गर्दिनँ
तिम्रा आँखाले बादल र वनबाहेक देख्देैन
मेरा आँखाले तिमीबाहेक देख्दैन
तिमी स्वतन्त्र छौ एक अनकन्टार ठाउँमा
म स्वतन्त्र छु आफैमा
हामी दुवैको यो स्वतन्त्रता
हामीलाई मन परेको छैन

कुनै दिन
यात्रामा निस्किएर हिँड्ने क्रममा
बाटो भुलेर कतै पुगिछौ र हराएछौ भने
मलाई सम्झनू
म तिमीलाई बुझाउने छु
प्रेम पनि अनकन्टार हुँदो रहेछ
सुनसान अनि मौन हुने रहेछ
विकल्पविहीन हुँदो रहेछ
छुट्टिएपछि
तिमी हराएको अन्तिम विन्दुजस्तै ।

Facebook Comments Box

Similar Posts