– भोगेन्द्र लिङ्देन

ए मिम्जिमाए
आज सिसेक्पा तङ्नामको दिन
पालाम र हाक्पारे गाउन
तमोर किनार राँके मेलामा झर्नु है
आदिमाता मुजिङ्ना खेयोङ्नाले तान बुनेको गाउँमा
आदिपुरुष सुसुबेन लालाबेनले सिकार खेलेको भीरपहराहरूमा
ढकमक्क फुलेको सेक्मुरी फूल
तिम्रो शिरमा छपक्कै राखिदिउँला है ।

ए मिम्जिमाए
तिम्रो यादहरूमा
रातभरि जुन हेरिबस्छु
रातभरि ताराहरू हेरिबस्छु
त्यो जुन र ताराहरूमा
अम्लारी फूल झै धपक्कै बलेको
तिम्रै रूप देख्छु
अनि मेन्जो मेन्जो सम्झिल्याउँदा त
ए मिम्जिमाए
हामी त नाम्याप्मी सा- घामको सन्तान
हामी त लायाप्मी सा- जुनको सन्तान
हामीले त
घामजुन रहेसम्म
मायाको सेक्मुरी फूल फुलाउने
मायाको अम्लारी फूल फुलाउने
वाचा कस्सम गर्नु बाँकी नै पो रैछ नि ।

त्यसैले
ए मिम्जिमाए
आज सिसेक्पा तङ्नामको दिन
च्याब्रुङ च्याङको धुनले रनवन घन्काउँदै
च्याब्रुङ नाच्‍न
तमोर किनार राँके मेलामा झर्नु है
सावा येत्हाङहरूको पवित्र गाउँहरूमा
ढकमक्क फुलेको अम्लारी फूल
तिम्रो शिरमा छपक्कै राखिदिएर
फक्ताङलुङलाई साक्षी राखी
त्यो घामजस्तै उज्यालो
त्यो जुनजस्तै उज्यालो
तिम्रो शिर छुवाएर
तिम्रो मजेत्रोमा युप्पारूङ् बाँधेर
मायाको निशानी साट्नेछु ।

शब्दार्थ
मिम्जिमाए- मायालु
सिसेक्पा तङ्नाम-साउने संक्रान्ति
राँके मेला- साउने संक्रान्तिको दिन लाग्ने मेला
मुजिङ्ना खेयोङ्ना- याक्थुङ लिम्बु मुन्धुम अनुसार पहिलो मानव महिला
सुसुबेन लालाबेन- मुजिङ्ना खेयोङ्नाको छोरा
सेक्मुरी फूल- याक्थुङ लिम्बु मुन्धुम अनुसार जीवनको प्रतीक फूल
अम्लारी फूल-याक्थुङ लिम्बु मुन्धुम अनुसार प्रेमको प्रतीक फूल
सावा येत्हाङहरू- याक्थुङ लिम्बुहरूको पुर्खा
फक्ताङलुङ- कुम्भकर्ण हिमाल – याक्थुङ लिम्बु मुन्धुम अनुसार एक पवित्र र महत्वपूर्ण हिमाल
युप्पारूङ् – लिम्बु जातिमा प्रेमिकालाई प्रेमको निशानीको रूपमा दिइने चाँदीको सिक्का

Facebook Comments Box

Similar Posts