अशोक रोका
(डुवर्स, भारत)
बैठककोठामा सजाइएका
माटाका फलहरु
मेरो सानो छोरो सधैँ टोक्ने गर्छ
बजारमा बेच्न राखिएका आँप देखाउँदै
बाबा, माटोको हुगी भन्ने गर्छ
आशक्ति
जीवन काखीको पसिना गन्हाउँदागन्हाउँदै
हामी बुढा कुकुर भइसकेछौँ
रक्तहीन रोमान्सहीन
भेटिएका हाड टोक्दाटोक्दै
गिजाबाट फुटेको आफ्नै रगत
बडो मज्जा मानी मानी स्वाद लिएछौ
न त जीवनमोह फ्याक्न सकियो
न त शुष्क हाइ नै त्याग्न सकियो
पुरस्कार
जीवन र मृत्युको निर्णायक दौडमा
चौतारी, भन्ज्याङ, उकाली र ओराली
जीवन यात्रामा सरिक जीवन र मृत्यु
जीवन अविरल लम्किरह्यो
मृत्यु घस्रिरह्यो
निर्णायक मोडमा जीवन प्रथम
प्रशंसाको ताली जोड जोडले बजाइयो
स्याबासीको ढाड थपथपाइयो
विजेतालाई फूलमाला लगाइयो
पुरस्कार एउटा सन्चो मृत्यु हातमा थमाइयो ।