कृष्ण प्रधान
(मञ्जरी भिलेज, इमाडोल, ललितपुर)
धेरै धेरै भयो
भगवानको खोजीमा लागेको पनि
धेरै धेरै भयो ।
कतै भेटिएन
खोजेको भगवान्,
न ढुङ्गामा
न मूर्तिमा
न देवलमा
न मन्दिरमा
न तीर्थमै
न खोपीमै ।
जताततै भगवानका मूर्तिहरु
मूर्तिवत् बसिरहेका मात्र
एकोहोरो हेरिबसेका मात्र
मान्छेलार्ई मान्छेका कायालाई ।
मलाई अचम्म लाग्यो
भगवानले मान्छेलाई नै
यसरी किन हेरिरहेछ ?
एकोहोरो
युगौँदेखि
चुपचाप चुपचाप
मान्छे आफू ढुङ्गो बनेर
ढुङ्गाको भगवान् थाप्छ
र,
उसलाई पुज्छ
स्वयंलाई दानव बनाएर
ढुङ्गामा देवता खोज्छ
भौँतारिएर हिँड्छ
यत्रतत्र सर्वत्र
तर कहीँ पाउँदैन
उसले खोजेको भगवान्
उसको भगवान्,
स्वयंलाई देवत्वकरण गरेर
भगवान् कहीँ भेटिँदैन ।
स्वयंलाई बिर्सिएर
मान्छे भौँतारिएको पनि धेरै भयो,
आफैले छाडेका पदचापहरु बिर्सिएर
आफैले बनाएका डोबहरु मेटेर
आफैले हिँडेका गोरेटाहरु भत्काएर
भगवानको नाममा भौँतारिरहेको पनि युगौँ भयो,
भगवानको खोजीमा
स्वयंलाई बिर्सिएको चाहिँ
उसले कहिल्यै पत्तो पाएन ।