असार ३१, काठमाडौं । चन्द्र पाण्डेको लेखन, आर.के. मेहताको निर्देशन तथा कलाकार अनिल सुब्बाको एकल अभिनयमा आधारित नाटक ‘जिउँदो आकाश’ को विशेष प्रदर्शनी नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको एक थिएटर नेपालमा सम्पन्न भएको छ।यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले समाज, परिवार र राज्यबाट भोग्नुपरेका विभेद, अपहेलना तथा पहिचानको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस नाटकले दर्शकमाझ गहिरो प्रभाव छोडेको छ। नाटकले गरिमा नामक पात्रको जीवनकथामार्फत लैङ्गिक पहिचानका कारण सिर्जित मानसिक पीडा, सामाजिक बहिष्कार, पारिवारिक दबाब र आत्मसम्मानको खोजलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ।

पुरुष शरीरमा जन्मिए पनि स्त्री स्वभाव बोकेर हुर्किएकी गरिमाको जीवनयात्रालाई नाटकको मूल कथावस्तु बनाइएको छ। परिवार, विद्यालय र समाजबाट निरन्तर अपमान, हिंसा र अस्वीकृति भोग्दै मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगेकी गरिमाले पारिवारिक दबाबमा विवाह गरे पनि आफ्नो वास्तविक पहिचान लुकाउन सक्दिनन्। अन्ततः आफ्नै समुदायको साथ र श्रीमतीको सहयोगबाट उनी आत्मस्वीकृतिसहित स्वतन्त्र जीवन रोज्ने निर्णयमा पुग्छिन्। नाटकले आत्मपहिचान, सम्मान र समान अधिकारको सशक्त सन्देश प्रवाह गरेको छ।नाटकका सम्पूर्ण पात्रहरूलाई कलाकार सुब्बाले एक्लै जीवन्त रूपमा प्रस्तुत गरेका छन्। एउटै कलाकारले विभिन्न पात्रहरूको मनोविज्ञान, भावभङ्गिमा र संवादलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु नाटकको विशेष आकर्षण बनेको छ। सामाजिक विषयवस्तुलाई एकल अभिनयमार्फत मञ्चन गरिएको यो प्रस्तुति नेपाली रंगमञ्चमा नवीन प्रयोगका रूपमा समेत हेरिएको छ।

विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले नाटकले उठाएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दा समसामयिक र सामाजिक रूपमा अत्यन्त सान्दर्भिक रहेको प्रतिक्रिया दिएका थिए। अधिकांश दर्शकले कलाकार अनिल सुब्बाको अभिनयको खुलेर प्रशंसा गर्दै नाटकले समाजमा समावेशिता, समानता र मानव अधिकारबारे गम्भीर बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमको अन्त्यमा आयोजकले सहभागी दर्शक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए।

‘जिउँदो आकाश’ पहिलो पटक वि.सं. २०७३ जेठ २९ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नाट्य महोत्सवअन्तर्गत दोलखाको चरिकोटमा मञ्चन गरिएको थियो। त्यसयता काठमाडौं, ललितपुर, पोखरा, झापा लगायत देशका विभिन्न स्थानमा ५५ पटकभन्दा बढी मञ्चन भइसकेको छ। साथै अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलअन्तर्गत भारतको दिल्ली र गुवाहाटीमा समेत मञ्चन हुने अवसर प्राप्त गरेको नाटकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय चर्चा बटुलिसकेको छ।नाटकमा ग्राफिक डिजाइन केर डी कोइँच, शिशिर गिरी र शिशिर लिम्बुले गरेका छन्। प्रचारप्रसार संगीता थापा मगर र स्काई राईले सम्हालेका छन् भने संगीत परिकल्पना किरण चाम्लिङ राईको रहेको छ। प्रत्यक्ष संगीत युकेश राई, सोनाम तामाङ, शेर्मो तामाङ र अञ्जना राईले प्रस्तुत गरेका छन्।

त्यसैगरी प्रकाश परिकल्पना तथा सञ्चालन सविन थामी, ध्वनि सञ्चालन सुस्मिता  गुरुङ, मञ्च निर्माण विशाल शाही, दिपेश पाठक र स्काई राई, गति संयोजन मनी कमल राई र चिराग पनेरु, मञ्च व्यवस्थापन रुपेश लामा र प्रतीना राई तथा सह-निर्देशन रेनुका कार्कीले गरेका छन्।

आयोजकका अनुसार नाटक साउन १ गतेदेखि १२ गतेसम्म (बुधबार बाहेक) प्रत्येक साँझ ५:३० बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शनसमेत रहनेछ।

Facebook Comments Box

Similar Posts