भदौ १, काठमाडौँ । नेपाल भाषाका जनकवि, कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा आइतबार राति निधन भएको छ। पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिएका छन्।
नेपाल भाषा तथा नेपाली साहित्यमा लामो समयदेखि सक्रिय श्रेष्ठले छ दशकभन्दा बढी समय साहित्य सिर्जनामा बिताएका थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीत तथा साहित्यका विभिन्न विधामा योगदान पुर्याएका थिए।
श्रेष्ठलाई नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि ‘जनकवि’ को उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषा साहित्यको संरक्षण, विकास र सामाजिक चेतना अभिवृद्धिमा उनको योगदान महत्वपूर्ण मानिन्छ।
उनका “सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल” तथा “फूलको आँखामा फूलै संसार” लगायत दर्जनौं गीतहरु अत्यन्त लोकप्रिय छन्।
नेपाल भाषामा श्रेष्ठका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।


