वैशाख १३, काठमाडाैं । पाठशाला नेपालको सभाकक्ष थापागाउँ नयाँबानेश्वरमा आयोजित भव्य समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९८ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र छन्द बचाऊ अभियानका कुशल अभियन्तासमेत रहेका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा रामप्रसाद ज्ञवालीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा प्रा.डा.रमेशप्रसाद भट्टराई, प्रा.डा.षडानन्द पौड्याल, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.देवी नेपाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, शब्दाङ्कुर साहित्यिक मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ, डा.विनोद मन्जन, साहित्यकार होम सुवेदी, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, अर्जुन पराजुली, कृष्ण सुवेदी ‘निराकार’, शंकर भारती, जय छाङ्छा, मुक्तिनाथ शर्मा न्यौपाने, वरिष्ठ पत्रकार टङ्क पन्त, डा.देवी पन्थी, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले, डा.सीता सुवेदी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टङ्क आचार्य, विजयध्वज थापा, नन्दु उप्रेती, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’लगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने निवर्तमान काव्य विभाग प्रमुख डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०२४ वैशाख ११ गते गुल्मी जिल्लाको हालको रुरु गाउँपालिका वडा नं.३ मा माता कुन्तादेवी ज्ञवाली र पिता दुर्गाप्रसाद ज्ञवालीका सुपत्रका रूपमा जन्मिएका प्रा.डा.रामप्रसाद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट २०४९ सालमा प्रथम श्रेणीमा सर्वप्रथम भएर नेपालीमा स्नातकोत्तर गर्नुका साथै २०६७ सालमा ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । वि.सं.२०५४ बाट प्राध्यापन पेसामा प्रवेश गरेका ज्ञवाली हाल त्रि.वि.केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापकका रूपमा कार्यरत रहँदै सिर्जना कर्ममा सक्रिय रहेका छन् र हालसम्म उनका कविता–काव्यका तेरओटा, समालोचनाका अठारओटा, दुइटा उपन्यास, दुइटा नाटक, बालसाहित्यका सातओटा, अनुवादको एउटा कृति प्रकाशित भएका छन् । त्यसैगरी दर्जनौँ पाठ्पुस्तकका लेखहसमेत रहेका उनले विभिन्न छओटा साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । विभिन्न संस्थाको स्थापनासमेतमा सक्रियता देखाएका ज्ञवालीको साहित्य साधनाको सम्मान गर्दै स्वदेशी तथा विदेशी गरी करिब चार दर्जन सम्मान तथा पुरस्कार उनले प्राप्त गरेका छन् ।

आफैँमा सशक्त कवि तथा समालोचकको परिचय बनाइसकेका ज्ञवालीले नेपाली साहित्यलाई स्वदेशमा मात्र होइन विदेशमा पुर्याउने कामसमेत गरेका छन् । स्नातकोत्तरमै ‘औँसीका फूलहरू’ महाकाव्य लेखेर शोधअनुसन्धान गरेका ज्ञवाली नेपाली समाजलाई नजिकबाट नियाल्ने, समग्र विकृतिलाई सिर्जनामा उतार्ने र रूपान्तरणको खरो सन्देश सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्त सचेत, क्रियाशील र सशक्त स्रष्टा हुन् । अविरल जनसाहित्य यात्राको नयाँ, पुराना र समाज रूपान्तरणका लागि साहित्य सिर्जना गर्ने स्रष्टा चयन गर्ने अनि नयाँ तथा पुरानालाई मिसाएर प्रस्तुत गर्ने उद्देश्यअनुसार अहिलेको यो शृङ्खलामा कवि ज्ञवालीलाई सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारीसमेत दिनुभयो ।

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९८ औँ शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारीको देहावसानसमेत भइसकेको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता तथा छन्द बचाऊ अभियानका अभियन्ता एवम् सचेत, सशक्त र प्रखर प्रगतिवादी स्रष्टा रामप्रसाद ज्ञवालीलाई प्रस्तुत गरिएको हो ।

समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी यो समारोहलाई नै अत्यन्त भव्य पारिदिनेगरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका अत्यन्त प्रखर एवम् कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक रामप्रसाद ज्ञवालीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता गाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । आफू ढलेर दुनियाँलाई उठाउने व्यक्ति मात्र सच्चाकवि हुन्छ भन्ने लागेर, गणतन्त्र ल्याएपछि कम्तीमा पनि नारीहत्या हुँदैन भन्ने विश्वास गरिएकोमा झन् त्यसको शृङ्खला नै चलेपछि नारीहरू पनि सचेत हुनुपर्छ भन्ने लागेर, जनताले भरोसा गरेर हिजो क्रान्तिका लागि जोगाएका नेताहरूले हिजोको त्यो जनताको आशा र त्यागलाई बिर्सेको देखेपछि र त्यो पीडाले छोएपछि, अहिलेको समग्र विकृतिका जिम्मेवार नेता मात्र नभएर हामी जनता पनि हौँ भन्ने अनुभूत गरेपछि; जसले पनि यो देशमा केही छैन, देशले केही दिएन भनेर गाली गर्ने गरेको देखेपछि देशले के बिगारेको छ ?

समाज बिग्रनुमा देशको के दोष छ भन्ने चेतना सम्प्रेषण गर्नका लागि; रूपलाई मात्र हेरेर गरिने प्रेम होइन कि त्याग, समर्पण र बलिदानलाई हेरेर गरिने प्रेमका पक्षमा; त्यागी र महान् व्यक्तिहरूले सभ्यताको निर्माण गरेका हुँदा उनीहरूको सम्मानका लागि, अर्काको अनुदान र सहयोगमा खुसी हुने मगन्ते होइन, कमिलाले त आफैँ निर्माण गर्छ भने हामी किन परनिर्भर मात्रै हुने भन्ने लागेपछि; राजनीतिले देशवासीकै बिचमा जात, धर्म, लिङ्ग, वर्णका आधारमा भिडन्त गराएको देखेर मन हुँडलिएपछि; कवि जिम्मेवार व्यक्ति हो र उसले समाजोपयोगी सामग्री लेख्नुपर्छ भन्ने लागेपछि; हामीले वर्तमानकै लागि सकेको सत्कर्म गर्नुपर्छ भन्ने लागेपछि कविता लेख्ने गरेको भन्ने रचनागर्भको पनि विस्तृत जानकारीसहित अनष्टुप् छन्दको ‘म कवि’, अनुष्टुप् छन्दकै ‘आक्रोश’, शार्दूलविक्रीडित छन्दको ‘धिक्कार मेरो जुनी’, अनुष्टुप् छन्दकै ‘धेरै फरक पो छ त’, शार्दूलविक्रीडित छन्दको ‘साँच्चै सुन्दर छ्यौ तिमी !’ गीतिछन्दको ‘म त देश हुँ’ र अनुष्टुप् छन्दको ‘उज्यालो यात्रा’ शीर्षकका अत्यन्त सुन्दर, सरल, सशक्त एवम् वैचारिक सातओटा पद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू दामोदर अधिकारीले मन्दाक्रान्ता छन्दको ‘निर्मला पन्तलाई’, शार्दूलविक्रीडित छन्दको ‘स्वाभिमान छ भने’ र गीतिछन्दको ‘जाग जाग’ शीर्षकका अनि दिनेश पाण्डेले अनुष्टुप् छन्दको ‘सच्चाकवि’ र चौबोला छन्दको ‘शालिग्राम’ शीर्षकका त्यस्तै सुन्दर, शालीन, सरल तर अत्यन्त सशक्त वैचारिक कविता उत्कृष्ट लयमा गाउनुभएको थियो । सबै कविता गाउनका लागि सङ्गीतकार शंकर योगीले सङ्गीत दिनुभएको थियो । कविताले सभाकक्षमा पूरै साङ्गीतिक माहोल सिर्जना गरेका थिए ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक प्रा.डा.रमेशप्रसाद भट्टराईले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९८ औँ शृङ्खलामा पुगेको छ । यो अभियानअन्तर्गतको आजको यो भव्य समारोहमा उपस्थित भएर अहिलेको समयका अत्यन्त प्रखर, प्रगतिवादी स्रष्टा रामप्रसाद ज्ञवालीका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । नेपाली कविताको विकासमा छन्दसिर्जनाका माध्यमबाट उच्च र अनुकरणीय योगदान गरिरहेका प्रा.डा.रामप्रसाद ज्ञवालीको कविता सिर्जनायात्रा अफ्रिकन सशक्त कविसँग पनि निकट रहेको देखिन्छ । छन्दलाई सिर्जनामा ढाल्ने कविताको रचनागर्भले कविको लेखनी निर्धारण गर्दछ । कवि ज्ञवालीका कवितामा रचनादर्शन, विषयको गम्भीरता, श्रमको उच्चगान, प्रेमको सौन्दर्य, सृष्टिसौन्दर्य, पर्याचेतना अत्यन्त सशक्त रहेको पाइन्छ ।

कविता कविको भावनाले विचार पाउने विधा भएकाले कल्पनाक्षमताको उद्बोधन कवितामा हुन्छ । ज्ञवालीका कवतामा निरन्तरको कठोर यात्राको दार्शनिकता पाइन्छ भने सबै कवितामा कर्मशील जीवनको वकालत गरिएको पाइन्छ । पाब्लो नेरुदा, मायाको बस्कीका विचारजस्तै समयचेत कवितामा पाइन्छ । उनीहरूको विचारमा मस्तिष्कलाई सन्देश पठाएर सिर्जना जन्मिन्छ भन्ने मान्यता ज्ञवालीका कवितामा स्थापित भएको देखिन्छ । लैङ्गिक विभेदको पराकाष्ठाका उपजका रूपमा महिला बलात्कार तथा हत्याका घटना देखिएका छन् । नारीका पक्षको पुरुषको अनुभव पनि शक्तिशाली हुन्छ भन्ने कविताले स्थापित गरेको पाइन्छ । पारिजात, देवकोटाले भनेझैँ विषयसँग संवाद गर्दै हिजो भरोसा गरिएकाहरू स्खलित भएकाप्रति आक्रोश पनि व्यक्त गरिएको छ र सँगसँगै सशक्त चेतना सम्प्रेषण मात्र गरिएको छैन आशावादी क्रान्तिकारी चेतना पनि अभिव्यक्त गरिएको छ ।

समाजमाथि अनुभूतिजन्य व्यङ्ग्य पनि ज्ञवालीका कविताले गरेका छन् । मानवताको अन्तरतम अनुभूतिका साथ सिङ्गो मानवताको आग्रह कविताले गरेका छन् । परम्परागत दैहिक प्रेम होइन उदात्त वा आत्मिक प्रेमको आग्रह कवितामा गरिएको छ । प्रविधिले कवितासिर्जनामै सङ्कट ल्याएको वर्तमानमा कवितालाई आक्रमणबाट बचाउनु आवश्यक छ । कवि नागरिक समाजको जैविक बुद्धिजीवी पनि हो त्यसैले लैङ्गिक सहसम्बन्ध आवश्यक छ, मान्छेको रङ होइन अन्तर्य चेतना र सुन्दरता आवश्यक छ, उपभोक्तावादले सबै सबैलाई दास बनाएको भए पनि देशभक्तिको भाव र स्वाभिमान आवश्यक छ, देशप्रतिको उच्चसम्मान आवश्यक छ; धर्म, लिङ्ग, जातका आधारमा विभेद होइन समानता आवश्यक छ र सार्वभौम चेतना आवश्यक छ भन्ने सन्देश ज्ञवालीका कविताले सम्प्रेषण गरेका छन् । कविको प्रतीकका रूपमा शालिग्राम कविता आएको छ । कवितामा संयम, सन्तुलन अत्यन्त उच्च रहेको देखिन्छ । कर्मशील जीवनका पक्षमा वकालत गरिएको राष्ट्रगानको गायन त्यत्तिकै सशक्त छ । भाषा, लय, भाव, संरचना र कलाको संयोजन ज्ञवालीका कवितामा उच्च रहेको पाइन्छ भन्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अन्ठानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त र प्रखर कवि रामप्रसाद ज्ञवालीलाई सुनियो । साजसज्जायुक्त र व्यावसायिकजस्तो लाग्ने भव्य आजको यस समारोहमा यति सशक्त कविता सुनियो कि हर्षाश्रु नै झरे । आजका कविताले हामी स्रोतालाई पूर्ण रूपमा पगालेका छन् । साहित्यको तेज यस्तै सशक्त हुनुपर्छ । दुई सयभन्दा बढी सहमागी रहेको यो भव्य समारोहमा कविताको गीतकै जस्तो सशक्त गायन सम्भव हुँदो रहेछ भन्ने देखियो, सुनियो । यो भव्य सभाकक्ष देखेपछि ‘स्रष्टा कल्याण कोष’ स्थापना गर्ने र महासङ्घको आफ्नै भवन बनाउने आफ्नो सपना ब्यँुझिएको छ । मरेकाहरू ब्युँतिने र तर्साउने प्रयत्नका विरुद्धमा स्रष्टाका यस्तै सुन्दर सिर्जनाका माध्यमबाट प्रतिकार हुनु आवश्यक छ र आजको यो समारोह अत्यन्त सार्थक लागेको छ भन्ने धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक सबैलाई धन्यवाद दिँदै सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सिर्जना, प्राध्यापन, छन्दअभियान एवम् शैक्षिक संस्थामा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय स्रष्टा रामप्रसाद ज्ञवालीलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; विचार र व्यवहारमा तालमेल नगर्ने ढोँगी राजनीति र नेतृत्वलाई कठोर प्रहार गर्ने; आदर्श मानेका नेतृत्व विचारमा स्खलित भएकाले आफैँ घृणित भएका यथार्थको प्रस्तुति गर्ने, समाजमा विद्यमान अन्धविश्वास तथा शोषणमा शालीन प्रहार गर्दै रूपान्तरणको खरो सन्देश सम्प्रेषण गर्ने ज्ञवाली स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने कुशल, अत्यन्त प्रखर शिल्पी हुन् । यिनै कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ ।

अब हामी जेठ महिनामा ९९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका स्रष्टा प्रा.डा.विदुर चालिसेलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Facebook Comments Box

Similar Posts