सागर फुयाल, काठमाडौँ
चक्र चलिरहेको छ
भ्यागुता, सर्प र चिलको
कहिले प्यादा बनेर
कहिले ब्याधा भएर।
पुतली खान एकाग्र भ्यागुता
सर्पको राडारभित्र हुन्छ हरपल
सवाल,
भोकाएको छ कि छैन सर्प भन्ने मात्र हो
भ्यागुता पछ्याउँदै घिस्रिरहेको सर्प
चिलको तिखो दृष्टिको
परिधिभित्र हुन्छ प्रतिपल
सवाल,
भोको छ कि छैन चिल भन्ने मात्र हो
अजेय र अभेद्य लाग्ने चिल
चारै प्रहर मृत्युको पन्जाभित्र हुन्छ
मृत्यु अर्थात् महाब्याधा
यहाँ पनि सवाल,
खोज्न थाल्यो कि छैन मृत्युले भन्ने मात्र हो
हो, चलिरहेका छन् कारोबारहरू
ब्याधा र प्यादाहरूको
कहिले दृश्य बनेर
कहिले अदृश्य बनेर
स्तर फरक होला
शैली फरक होला
तर यहाँ जे छन्, जति छन्
प्यादा हुन् ती
ब्याधा पनि हुन् ती
प्यादा बाफिएर बिलाएको दिन
ब्याधाले भरिएको सागर रित्तो हुन्छ
आँधी बनेको ब्याधा रोकिएको छिन
चित्कार गर्ने प्यादा चुपचाप हुन्छ
प्यारासाइट जस्तै हुन् ब्याधा र प्यादा
बाँच्न सक्दैनन् यी एकअर्का बिना
र, आफूलाई विवेकी घोषणा गर्ने मान्छे
कि प्यादा हुनुको निरीहतामा बाँचेको छ
कि ब्याधा हुन सक्नुको रमितामा बाँचेको छ
सक्दा ऊ
ताक्छ तीर चारैतिर ब्याधा बनेर
हिसाबले, बेहिसाबले
तर बिर्सिन्छ
ऊ त फगत प्यादा हो
ब्याधा सम्राट समयको।


