• माधव काफ्ले

खोजिन्छ जिन्दगी च्याती सृष्टिको अमरापुर
तृप्तिको तिर्सना बोक्तै तापेर अमिलो घुर
छैन स्थिर कतै केही आस्था, आदर्शको सुर
जलतरङ्गजस्तै छ जिन्दगी क्षणभङ्गुर ।

टिप्तै शीतल जूनको चहकिलो सौन्दर्य तापीकन
उठ्तै भेल उद्दण्ड वायु बलको सूर्यादिको तोरण
आफ्नै स्वच्छ विचार साथ बहने छामेर सारा चर
यौटा लाग्छ अराज राजपथको भोको म यायावर ।

कहाँ विज्ञानको आलो ज्योति समृद्धिको गति
मठारेर सबै ज्ञान सनातनी लिई मति
जम्मा पारेर बाटामा छेपारा आठ वा दश
श्रीपेच भिर्न खोज्दै छ एउटा ब्रह्मराक्षस ।

गोली बारूद मोहको मद छटा खैचेर भाला, झिर
बढ्दा तागत निस्प्रयोजन सिधै ताकेर निर्धो शिर
कुण्ठा, ताप, खुसी सबै विगतका च्यापेर सारा बही
मान्छे आज हिँडिरहेछ जगमा मोक्षान्त पीडा सही ।

Facebook Comments Box

Similar Posts