पुरूषोत्तम घिमिरे
स्पर्श भन्दा पर,
आकाशको शून्यतामा
गर्लम्म अँगालो हालेर
मुसारिएका सुगठित प्रेमाङ्कुरहरु,
शरीरको सिमानाले नछेकिएका,
शब्दातीत दृश्यहरुमा प्रतिविम्बित भावनाहरु,
मुटुको धड्कनले हजारौँ माइलको
यात्रापछि बिना कुनै ठोस स्वरुप
चुमेका अधरहरु ।
छालाले नछोई गरेको स्पर्श,
वस्तुबिनाको सुगन्ध,
मूर्तिबिनाको सेवा,
आत्मा आत्माबिचको इन्द्रियातीत स्पर्श,
शरीरभन्दा गहिरो,
सर्व शून्य ।
एउटा मौन संवाद,
फूलको सुवासजस्तै
नदेखिने तर महसुस हुने ।
विचारले सधैँ विचारसँग गरिरहने,
प्रेम, सम्भोग र सहवास,
अघृणित, अस्खलित र अस्पृश्य ।
ममा म हुन्छु म हुँ एक सुमन,
म साध्य साधु म हुँ एक साधन ।।
नछोई चुम्छु नबोली म सुन्छु,
आँखै नहुँदा पनि देख्न सक्छु ।।
म कल्पनामा अँचेटिरहन्छु ।
अमूर्त विम्ब म बोकिरहन्छु ।।
आकाशजस्तै देखिने तर नछुइने ।
हावाजस्तै पृश्य तर नदेखिने र भरिने
भित्रभित्रैको भित्री सन्तुष्टि,
एक अमूर्त प्रेम ।