अरूणकुमार भुजेल
(गोरूबथान, दार्जिलिङ, भारत)

यो मन किन निलो रङको आकाश छुनु भन्छ
सिमलको भुवासरी माथि माथि उडौँ भन्छ ।

गुराँस बनी पाखाभरि फुलौँ जस्तै गर्छ
कहिले धानको बालासरी झुलौँ जस्तै गर्छ
वसन्तको छटासँगै लुकामारी खेलौँ भन्छ
पुतली र मौरी बनेर उपवन डुलौँ भन्छ ।

हिमालजस्तै हाँसौँ भन्छ प्रीति गाँसौँ भन्छ
प्वाँख फिजाई मयूरजस्तै नाचौँ पनि भन्छ
रित्तै आयौँ रित्तै जान्छौँ जीवन यस्तै नै छ
पिर भुलेर खुसी बनी हाँस्दै बाचौँ भन्छ ।

Facebook Comments Box

Similar Posts