अर्जुन पीयूष
(सिक्किम, भारत)

ममा पनि आवाजका झरना थिए
ममा पनि तालका सुरहरु थिए
ममा पनि नृत्यका तरङ्गहरु थिए ।

ऊ !
मेरा निम्ति कुनै सम्मान थिएन
बाफ रे !
मेरा निम्ति कुनै ठाउँ थिएन
किनभने ममा मान्छेले खोजेको
एउटा सग्लो निश्चित लिङ्ग थिएन ।

मान्छेले आफूलाई भुलेर प्रश्न गरिरहन्थ्यो
यो पुरूष हो कि नारी ?
कि यो पृथ्वीलाई भारी ?

नारी र पुरूषको विभाजन रेखा कोरेर
न्यायको तराजु कोल्टे पार्नेहरुले बुझ्नू
म त्यो न्यायको तराजु हुँ
जो बराबरमा उभिन्छ ।

म पनि तिमीजस्तै मान्छे हुँ
मभित्र पनि तिम्रो जस्तै मन छ
यो मनको तरङ्ग
शरीर हिँडाउने विन्दास यी पयरहरु
कुनै पनि समय
मन्दिर मस्जिद गिर्जा जहीँ जान सक्छन् ।

आफूलाई मान्छेको जातमा उभ्याउनेहरु
तिमीहरुभन्दा म धेरै निरपेक्ष छु
म कुनै पुरूषनारी छुट्याउँदिनँ ।
नारीहरुले मलाई छुँदैनन्
पुरूषहरु मनजिक आउँदैनन्
तपाईंलाई थाहा हुनुपर्ने
उनीहरुमा कोही पनि
बाउआमाको
एक्लो सग्लो रुपमा आउन सक्दैनन्
तर मेरो महानता हेर
म आमाबाउको एउटै स्वरुप बन्न सक्छु
जीव वैज्ञानिकताले मात्र बाउआमा होइन्छ र !

यी कुरा कुन ग्रन्थमा लेखिएको छ !
म कुनै निश्चित लिङ्गको होइन भन्दैमा
मन छैन, मेरो मुटु दुख्दैन ?
आगोलाई नछुनू
पानीसँग जोरी नखोज्नू
हावामा पिङ खेल्छु नभन्नू
पहाडसँग ठोक्किन नखोज्नू
तरङ्ग सबैमा हुन्छ है
ममा पनि ज्वालामुखी पड्किन सक्छ है
त्यो दिन, त्यो समय
तिम्रो लिङ्गको परिभाषा
काम लाग्नेवाला छैन ।

विगत आगतलाई हेर
कसैले मानवताको युद्ध हारेको छैन
म पनि त्यो कालखण्ड हुँ
जो धेरै युद्धहरुमा परास्त छैन
मान्छेलाई मान्छेको रुपमा जोडेको छ
तिमीले देखेको सपनालाई मलजल गरेको छ ।

तसर्थ,
यो पृथ्वी तिम्रो मात्र हो नठान्नू
आकाश हावा केवल तिम्रो किपट हो नसोच्नू
तिमी यदि सम्मान पाउने आशा राख्छौ भने
मजस्ताको सम्मान गर्न पनि समयमै जान्नू ।

Facebook Comments Box

Similar Posts