हिमलाल श्रेष्ठ
(अस्राङ, गोरखा, हाल: कटुन्जे, भक्तपुर)

अनगिन्ती फुलोस् फूलहरु
अनेक रङका फुलोस् फूलहरु
चाहे फुलोस्
सुवासबिनाको फूल
चाहे फुलोस् सुवासित फूल
नैसर्गिकता उसकै हो ।

चाहे दौडोस् उपवनमा
चपला चम्पक मृगहरु
डुलोस् आफ्नै गतिमा
या नाचोस्
मोहक भङ्गिमामा
कुदोस् जोगिएर
सिकारी थकाओस्
आफै थाकेर
नैसर्गिकता उसको आफ्नै हो ।

लम्कोस्
सुरज ताकेर ऊ
लम्कोस् गहिरिएर जमिनभित्र
सोसोस् कार्बन
या पौष्टिक तङ्खव
निकालोस् अक्सिजन
त्यो उसको आफनै नैसर्गिकता हो ।

ढाकोस् धर्ती
ढाकोस् आकाश
छेकोस् सूर्यको ताप अनि प्रकाश
फैलियोस् तिनका जरा
समेटोस् आफैमा
कैयौँ चराचर
कैयौँ कीटपतङ्ग
कैयौं जीव
त्यो उसको नैसर्गिकता हो ।

नाचोस् मयूर
खोपोस् काठ–फरूवाले
प्वाल पारोस् रूखमा
भाँचोस् रूखका हाँगाबिँगा
वनकरले
टिपोस् वनका खाद्य
चहारोस् वनबुट्यान
लेकाली डाँफे
त्यो उसको नैसर्गिकता हो ।

कलकल बगोस् खोला
सिञ्चन गरोस् यो धर्ती
बगाओस् कुडाकर्कट
ओसिलो पारोस् आवहवा
वाष्पले सिर्जना गरोस्
भुइँकुहिरो र उड्दै उड्दै भेटोस्
बादलका बुट्टाहरु
त्यो उसको नैसर्गिकता हो ।
एक रौनक सार्वभौम वन !

Facebook Comments Box

Similar Posts