• धीरकुमार श्रेष्ठ

सभ्य भनाउँदा मानिसहरु हो
आजको दिन पनि
असभ्य भएर मेरो बाटो नछेक
मलाई जान देऊ
अगाडि जान देऊ
छाड छाड
मलाई मेरो बाटो छाड
नछेक अगाडि जान देऊ ।

जिन्दगीभरि तिमीहरुले
मेरो बाटो छेक्यौ
चिल्ला सडकमा
तिमीहरु गुड्यौ
गुड्यौ होइन सदा चिप्लियौ
आज मैले पनि गुड्ने होइन
चिप्लिने अवसर पाएको छु
मबाट मेरो यो अवसर नखोस
नछेक
मेरो बाटो छाड
मलाई अगाडि जान देऊ
सधैँ जस्तो पछाडि नपार ।

किन थाहा छ ?
किनकि आज मैले
महानगरपालिकाबाट
निःशुल्क शववाहन पाएको छु
फेरि कहिल्यै नउठ्ने गरी
गहिरो निद्रा सुत्न पाएको छु
फेरि कहिल्यै तिमी सभ्यहरुसँग
बाटो नमाग्ने गरी ।

Facebook Comments Box

Similar Posts