देवकी तिमल्सिना
बिरामीको जुत्ता
अस्पतालको ढोकाबाहिर चुपचाप बसिरहेको छ
सर्जिकल मास्कहरुजस्तै
निष्क्रिय तर प्रतीक्षारत
कुनै चमत्कारको होइन
सिर्फ फर्किने पाइलाहरुको ।
भित्र शल्यक्रियाको तयारी हुँदै छ
कसैले प्रार्थना गरिरहेका छन्
कोही मोबाइलमा व्यस्त छन्
र कुनै आफन्त केवल
उपस्थितिको औपचारिकता निभाइरहेका छन् ।
जुत्ता सम्झन्छ…
हिजोसम्म ती पाइलाहरु
कति ताजगीले भरिएका थिए
आशाहरुको भारी बोकेर – उकालो चढ्दै थियो
आँखामा सपनाहरु सजाउँदै – मुस्कुराउँदै थियो
चोकमा समोसा खान जाँदै गर्दा– भनेका थिए
जिन्दगी त स्वाद हो, दुःख होइन ।
अहिले ती पाइलाहरु बेहोस छन्
अस्पतालको सिरानीमा थलिएका छन्
र आफन्तहरु थकित छन्
कोही बिलको लाइनमा छन्
कोही रिपोर्टको पर्खाइमा छन्
कोही प्यासेजमा ओछ्यान खोजिरहेका छन् ।
जुत्ता अझै त्यहीँ छ
बिनाकसुर अस्पतालको गन्ध सुँग्दै
मौन दर्शक भएर पनि सबथोक देखिरहेको छ
हात समाउनेहरु हतारमा छन् –
फोनको घण्टी उठाउँदै भन्छन्
थाहा पाइहाल्छु नि
के भयो भनेर मलाई मेसेज गर्नु है !
तर जुत्ता
कसैको मेसेजको पर्खाइमा छैन
कसैको माया बाँकी छैन ऊसँग
उसको काम केवल त्यही हो
जसले लगायो–
उसलाई फिर्ता बोकिने आशामा बस्नु ।
अन्ततः
यदि बिरामी फर्किएन भने
जुत्ता कसैको नजरमा पनि पर्दैन
अस्पतालको कुनामा
भेटिन्छ एउटा लुग्लुगाइरहेको मौनतामा !


