चेतनाथ कणेल ‘हरित’
(शृङ्गा, गुल्मी, हाल: नयाँबानेश्वर, शङ्खमूल, काठमाडौँ-३१)

कर्मशीलता र प्रतिबद्धताको
अविनाशी टीका लगाएर
यतै मनोहरा/उतै बागमती र त्यतै तामाकोसी
जो अनवरतताका प्रतीक हुन्, निश्छल पनि हुन्
जो जीवनदायी हुन्, ‘स्पेसल’ पनि हुन्
पेशल यतै छन् अझै
पेशल कतै छन् अझै !

जब थाहा हुँदैन यात्रामा
गन्तव्य कहाँ टुङ्गिन्छ ?
जब ज्ञान हुँदैन साधनामा
सास कहाँनिर रोकिन्छ ?
बिल्कुल,
यात्रा अथक थियो,
साधना धीर थियो
तर पनि,
केही प्रश्न छन् हाम्रा
पेशल जो ‘स्पेशल’ थियो,
प्रतिभा जो बहुआयामिक थियो
किन चट्याङले खोजी खोजी हान्छ ‘ब्रेनी’ टाउकोमा ?
किन यमराजले कलिलै जलाउँछ निर्दयी अग्नि–लाउकोमा ?

मृत्यु एउटा शाश्वत नै हो भने पनि,
जीवन एउटा अनिश्चय नै हो भने पनि,
मृत्यु नजिकिएको एक मान्छेले
जीवन छोटिएको एक मान्छेले
भन, किन प्रश्नको पेटारो छोडेर जानुपर्ने हो हामीलाई ?
भन, किन जिज्ञासाको चटारो लाइरहनुपर्ने हो कसैलाई ?

यतिबेला,
मेरै अगाडि रोइरहेका छन् पेशल–प्रश्नहरु !
मेरै अगाडि सुतिरहेका छन् पेशल–प्रश्नहरु !!
र, यति नै बेला
बेस्सरी भक्कान्निएका छन् दुई ‘थली’हरु
मन्थली उता रूँदै छ !
टीकाथली यता रूँदै छ !!

Facebook Comments Box

Similar Posts