उद्धव न्यौपाने
(चारदोबाटो, भक्तपुर)
तिमी फूल हौ
मेरो मनको,
तिमी रुप हौ
मेरो सपनीको ।
कति छिट्टै, सटुक्कै,
फुल्यौ यो मनमा ।
कति सौम्य, प्रशान्त,
देखियौ यौवनमा ।
तर लुक्नै सकेन
सौन्दर्य त्यो,
पोखियो यो मनभरि
र
उर्लियो सीमा तोडेर ।
तिमी शान्त, सौम्य भएरै
मलाई उछाल बनायौ,
कोसौँ टाढा रहेरै
मेरो निदरीमा आयौ !
तिमी फूल हौ
मेरो मनको,
तिमी रुप हौ
मेरो सपनीको ।
केवल एक पल
रोकिएर हेर ।
केवल एक पल
फर्किएर हेर –
भुतुक्कै भएर लाजले
रक्तिम हुने छु
म,
सायद जुनी जुनी ।
सायद
म चाहन्छु–
मनभरि यही फूल,
आँखाभरि यही सपना ।
र
म चाहन्छु–
तिम्रो लाजले रक्तिम भएर
बाँच्न जुनी जुनी ।