चन्द्रमणि चापागाई

म ठेकेदार
जो जन्मदै लिएर संसारको ठेक्का
बाँच्छु ठेक्का जिन्दगी ।

मेरो प्रार्थनाले बाँच्छ ईश्वर
अर्गले उदाउछ सूर्य
आँखाले चम्काउछ ताराहरू
कृपाले घुम्छ पृथ्वी ।

एक फन्को फनक्क घुमेर आफ्नै घर
करेसामा फुलेको कानेझार कुल्चदै
हे ईश्वर !
म भन्न सकुँ
मेरो घर मेरो अंगालो भन्दा दुई अँगुल सानो छ
या एक बित्ता लामो छ ।

बलेसीमा तेत्तिसकोटी देउता तप्किन्छन हरेक असारमा
भङ्गेराले तीनसय जोडी खर जोडेर बुन्छ आफ्नो घर मेरो दलिनमा
बेखवर म
लिन्छु ठेक्का आफ्नै घरको
शरणार्थी बनेर ।

म जति सोच्‍छु
प्रत्येक पटक आकाशिन्छ यो धुरी
लम्बिन्छ छित्तिज जस्तै यो पाली ।

मैले आफ्नै चुलोको धुँवाको भाषा बुझ्दिन
मझेरीको छातीको माया बुझ्दिन
मेरै ढोकाको पल्लाले किन छेक्छ मलाई ?
र पनि भन्छु
मेरै रेमिटेन्सको छानोले ओतेको छ यो घर ।

यसरी लिन्छु म ठेक्का
भगवानको
सुर्यको र चन्द्रमाको
अनि आफैले नरुँघेको
आफ्नै घरको ।

Facebook Comments Box

Similar Posts