सी.के. श्रेष्ठ
(सिलगडी, भारत)

देशविहीन हुनुको पीडा
पीडित मनभित्रै खोज्नू
आफू उभिएको माटोधरि
आफ्नो नभएकालाई सोध्नू

नागरिकता चिसो सार्टिफिकेट
देशको न्यानो काख होइन
संविधान सुरक्षा भन्ने मात्र
देशको स्नेहिल हात होइन

दुःख होस् कि अभाव होस्
देश भनेको देश हुन्छ
गुमायौ भने तिमी हुँदैनौ
केवल भग्नावशेष हुन्छ

झुटो लागे इतिहास
पल्टाऊ बिदेसिएका पुर्खालाई खोज
विश्वभरि चिन्हारी खोज्दै
छट्पटिएका सन्तानलाई सोध

सानो होस् कि ठुलो होस्
देश भनेको देश हुन्छ
त्यसैले देशसित
खेलाँची नगरेकै बेस हुन्छ ।

Facebook Comments Box

Similar Posts