भोगेन्द्र लिङ्देन

गड्तिरका राँकेभूतहरू

गड्तिरका राँकेभूतहरू
आफ्नै राँकोको उज्यालोमा
आफ्नै अनुहारहरू हेरेर मग्न हुन्छन्
र आफैमाझ
खोलाका बगरहरू भागबण्डा गर्छन्
त्यँही काटमार गर्छन्
अनि कुनै युद्ध जितेसरी
उन्मत्त साँढेजस्तो डुक्रदै
त्यँही बगरमा लीन हुन्छन् ।

भोलि फुल्ने गुराँस

घाम डुब्दैछ
गोधुँलीको स्वागतमा
चरीहरू गाइरहेछन्
सुरिलो आवाजमा
किरकिर-किरकिर
झ्याउँकिरीहरू कराइरहेछन्
हामी बसेका छौं
गुराँसहरू फुलाउने ईच्छाहरू लिएर
भोलि उदाउने सुनौलो घामको पर्खाईमा।

साँझ ढल्दैछ
थपिंदो छ चकमन्नता
जूनेली रातसँगै
सारा चराचर जगत सुतेको बेला
जागा छौं हामी
भोलि बिहानको सूर्योदय हेर्न
भोलि फुल्ने गुराँसको पर्खाईमा
र कतै टाढा टा…………….ढा
अनन्त क्षितिजभरि फैलिएको
निलो सागरमा
नौका विहारमा निस्केका छौं हामी
छालहरूलाई अँगाल्दै
छालहरूसँग जिस्किँदै
अघि बढ्दैछौं हामी
सृष्टिको आदिम युगतिर
यात्रामय जीवनको
अनुभवहरू सँगाल्दै
ती पहाडी शिखरहरूमा
उडिरहेका बादलहरूलाई छुन ।

भालेको डाकसँगै
हामी पर्खिरहेका छौं
भोलि उदाउने घामलाई
भोलि फुल्ने गुराँसलाई
साँच्चै कस्तो हुनेछ भोलिको बिहानी ?
कस्तो हुनेछ भोलि उदाउने घाम ?
अनि कस्तो हुनेछ भोलि फुल्ने गुराँस ?

Facebook Comments Box

Similar Posts