नवराज न्यौपाने ‘मौन’
बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ ।
सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ ।
आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ ।
जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ ।
ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ ।
(बहर:मुजारे मुसम्मन अखरब)