नरेश कटुवाल
(दार्जिलिङ, भारत)

घोषणापत्र

माघको जाडो छ
मुखैमा चुनाव छ
त्यसैले गर्मी छ,
गाउँका खोरहरुबाट
भकाभक बाख्राहरु हराउन थालेपछि
आतङ्कको माहोल छ,
चितुवाहरुको दलले जित हासिल गरे
बाख्राहरुको सुरक्षाको ग्यारेन्टी दिने
घोषणापत्र पनि जारी छ ।

शान्ति जुलुस

एकदिन
फ्याउराहरुका बस्तीमा
कोइलीहरु बसाइँ सरे,
रातबिरात सम्साँझै
फ्याउरा रोइरहने ठाउँमा
बिहान बिहान कोइलीहरु गाउन थालेपछि
कोइलीहरुको भाकाबाट दिक्दार भएर,
हिँड्न थाले सडकमा
फ्याउराहरु प्रतिवादका शान्ति जुलुस ।

Facebook Comments Box

Similar Posts