प्रमोद नेपाल
(वीरगन्ज, हाल काठमाडौँ)
‘अचेल के गर्दै हो साथी, झ्याउरो देखिएका छौ नि ?’ बाटोमा भेट हुँदा रमेशले माधवलाई सोध्यो ।
रमेश र माधव एउटै कार्यालयमा काम गर्थे र सँगै अवकाश प्राप्त गरेका हुन् । रमेशलाई माधव पहिले झैँ चुस्तदुरूस्त लागेन ।
‘अचेल घाटाको व्यापार गर्दै छु साथी !’ माधवले रमेशलाई भन्यो ।
‘समाज सेवा हो ?’ रमेशले जिज्ञासा राख्यो ।
‘अब त्यै भन्नुपर्ला ।’ माधवले सोझो जवाफ दिएन ।
‘के भन्या त्यस्तो साथी ?’ रमेशले अचम्म मान्दै सोध्यो ।
‘हेलो !’ माधव मोबाइल फोनमा अरुसँग कुरा गर्दै रमेशलाई त्यहीँ छाडेर हिँड्यो ।
‘के चाला हो यसको, आधाअधुरो कुरा गरेर हिँड्यो !’ रमेश माधवप्रति आक्रोशित हुँदै फत्फताउँदै आफ्नो गन्तव्यतिर लाग्यो ।
‘ए रमेश !’ अलि पर मात्र के पुगेको थियो माधवको आवाजले रमेश टक्क अडियो । माधव फटाफट हिँडेर ऊतिरै आइरहेको थियो ।
‘के हो यस्तो चाला, केही नभनी हिँड्यौ त ?’ रमेश माधवसँग गुनासो पोख्दै थियो ।
‘कहाँ साथी, एउटाको फोन आयो, त्योसँगको कुरो तिमीलाई सुनाएर किन बोर गर्नु भनेर अलि पर गा’को, तिमी त हिँडेछौ !’ माधव स्पष्टीकरण दिँदै थियो ।


