भुवन रोका “मित्रजी”
खोटाङ नेपाल(हालः टोकियो जापान)
नयाँ पाईला
नयाँ विद्यालय
नयाँ पुस्तक
त्यसैले नयाँ होला यो नयाँ वर्ष
यो हरेक साल आउछ
हजुरबाको लौरो
थोरै बङ्ग्याएर छोटो बनाउछ
हजुरआमाको चस्माको
पावर बढाउछ
बाको उमेरमा एक वर्ष थपेर
अझै बुढो बनाउछ
आमाको कपालमा
अझै बढी सेतो पोत्छ
धेरैलाई पुरानो बनाउछ
आफु भने सधै नयाँ बनेर आउछ
यो “नयाँ वर्ष”
नयाँ फोटो
नयाँ नागरिकता
नयाँ राहदानी
त्यसैले नयाँ होला यो नयाँ वर्ष
यो हरेक साल आउछ
एक थान पुरानै सपना बोकेर
टाल्नुछ चुहिरहेको छानो
फेर्नुछ आमाको मजेत्रो
साट्नुछ राहदानी झुपडीसँग
उड्नुछ परको देश परदेश
पुर्नुछ अभावको खाडल
कोर्नुछ समानताको रेखा
यो नयाँ वर्षले
उबेला बाले देखेका
ती नै पुराना सपना ल्याउछ
आफु भने सधै नयाँ बनेर आउछ
यो “नयाँ वर्ष”
नयाँ दौरा-सुरुवाल
नयाँ दरबार
नयाँ मन्त्री
त्यसैले नयाँ होला यो नयाँ वर्ष
यो हरेक साल आउछ
एक मेलो शपथ जोतेर
सपनाको धागोमा
कल्पनाका बुट्टाहरु खिपेर
आदर्शका रङ्गहरु पोतेर
वर्षभरिको योजना बन्नेछ
धेरै वटा नयाँ वर्षहरु बेचेर
किनेको त्यो प्रमाण पत्र
गाऊँदेखि सहरसम्म डुलेर
थन्किएको थियो कन्तुरमा
यो नयाँ वर्षमा
रोजगार बन्नेछ
झुपडीको आँगनमा
विकासका फूलहरु फुलेर
शान्तिका फलहरु फलेर
यो नयाँ वर्षमा
समाज समुन्नत बन्नेछ
साच्चै
देश भ्रष्टाचार मुक्त बन्नेछ
ती नै पुराना नारा दिन्छ
आफु भने सधै नयाँ बनेर आउछ
यो “नयाँ वर्ष”
नयाँ वर्ष
मृत्युमात्र होईन सपनाहरुको
जन्म पनि हो नयाँ सन्तानहरुको
जसले पुरा गर्नेछन्
देशका अधुरा सपनाहरु
शुभकामना नयाँ वर्षको।